काठमाण्डौ - सडक यातायातको पहुँच, व्यवसायिक रुपमा सञ्चालनका लागि योग्य नबन्नु र थप क्षमता विस्तार गर्न थालिएपछि देशभरका २१ वटा विमानस्थलमा अहिले कुनै पनि उडानरअवतरण हुँदैनन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको सार्वजनिक गरेको तथ्यांक अनुसार अहिले नेपालभर निर्माणाधीनसहित ५६ वटा विमानस्थल रहेका छन् । यी विमानस्थलमध्ये २१ वटा तयारी अवस्थाकै विमानस्थलमा समेत अहिले उडानरअवतरण हुन सकेको छैन ।
विगतमा यातायातको एक मात्र विकल्प रहेका बेला निकै चलेका विमानस्थलहरुसमेत अहिले गौचरणमा परिणत बनेका छन् ।
प्राधिकरणको विवरण अनुसार विगतमा निकै चलेका बागलुङ, रुकुम, ढोरपाटन, चौरजहारी, दार्चुला, पालुङटार गोरखा समेतका विमानस्थल अहिले सञ्चालनमा छैनन् । दुई वर्ष अगाडि नै परीक्षण गरिएको गुल्मीको रेसुंगा विमानस्थल धावनमार्ग कालोपत्रे गर्न लागिएका कारण अहिले सञ्चालनमा छैन ।
व्यवसायिक रुपमा सञ्चालनका लागि योग्य नभएपछि चितवनको मेघौलीस्थित विमानस्थल समेत बन्द भएको छ । विगतमा सगरमाथा आरोहीका लागि मुख्यद्वार मानिने जिरीस्थित विमानस्थल समेत व्यवसायिक रुपमा नचल्ने भएपछि सञ्चालनमा छैन ।
इलामस्थित विमानस्थलमा समेत दुई वर्ष अगाडि नै परीक्षण भएको थियो । यहाँ अहिले धावनमार्ग, ट्याक्सी वे, एप्रोनको कालोपत्रे गर्ने काम गरिएको छ ।
तर, थप निर्माण सकिने समय भने निश्चित छैन । डोल्पाको मसिनेचौर धावनमार्ग कालोपत्रे गर्न बन्द भएको थियो । कालोपत्रे गर्ने काम सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ ।
यी हुन् सञ्चालनमा नरहेका विमानस्थल
बागलुङ, चौरजहारी, दार्चुला, ढोरपाटन, पालुङटार, रेसुंगा गुल्मी, इलाम, जिरी, कांगेलडाँडा, कालिकोट, खिजी चण्डेश्वरी, लाङटाङ, लामिडाँडा, महेन्द्रनगर, मनाङ, डोल्पा, मेघौली, रोल्पा, रुम्झाटार, स्याङबोचे र टिकापुर ।
देशभर एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, निर्माणाधीनको प्रगति के छ ?
अहिले नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल एक मात्र छ । त्यो, काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हो । यसबाहेक देशभर थप तीन वटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको चरणमा छन् ।
तर, विमानस्थल आयोजनाहरुको प्रगति भने सुस्त रहेको छ । प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीका अनुसार भैरहवामा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य ९८.७६ प्रतिशत रहेको छ ।
यो विमानस्थललाई आगामी तीन महिना भित्र उद्घाटन गरिसक्ने घोषणा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले गरेका छन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको प्रगति ८९ प्रतिशत भएको छ ।
निजगढमा भने विमानस्थलको निर्माण नै थालिएको छैन । एक अन्तर्राष्ट्रिय र आन्तरिकका चार हव विमानस्थल पोखरा, विराटनगर, भैरहवा र नेपालगञ्ज०बाट अन्य विभिन्न गन्तव्यमा उडान हुन्छ । आन्तरिकतर्फ एक मात्र विमानस्थल अर्घाखाँची निर्माणाधिन अवस्थामा छ ।
तेह्रथुमको चुहानडाँडामा विमानस्थल निर्माण गर्न वातावरणीय प्रभाव मूल्यांकन बनाउने काम प्रक्रियामा रहेको महानिर्देशक क्षेत्रीले जानकारी गराए ।
८ विमानस्थलमा हुन्छ रात्रिकालीन उडान
देशभरका ८ वटा विमानस्थल भने रात्रिकालिन उडान गर्न योग्य बनेका छन् ।
काठमाडौं सहित विराटनगर, भैरहवा, सिमरा, चन्द्रगढी, जनकपुर, धनगढी र नेपालगञ्ज विमानस्थलमा यस्तो सुविधा छ । प्राधिकरणका अनुसार देशभर ३७ वटा विमानस्थलको धावनमार्ग कालोपत्रे भएको छ । अनलाईन खबरवाट