अत्तरिया - सुदूरपश्चिम प्रदेशमा अहिले सम्म डेढ लाख भन्दा बढी बालबालिकालाई कोरोना विरुद्धको मोडर्ना खोप लगाइएको छ ।
प्रदेशका ६ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहकाडेढ लाखभन्दा बढी बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप लगाइएको स्वास्थ्य निर्देशनालय डोटी दिपायलले जनाएको छ ।
कञ्चनपुर, अछाम, बाजुरा, बझाङ, बैतडी र दार्चुलाका गरी एक लाख ६० हजार ९६८ बालबालिकाहरूलाई मोडर्ना खोप लगाइएको स्वास्थ्य निर्देशनालयका तथ्यांक सहायक डिएन गिरीले बताए ।
डोटी, डडेलधुरा र कैलालीमा भने उनीहरूका लागि खोप अभियान सञ्चालन गरिएको छैन ।
डोटी जिल्लामा तत्काल खोप अभियान सुरु गर्ने योजना भए पनि कैलाली र डडेलधुरामा भने केही पछि सञ्चालन हुने उनले बताए । डडेलधुरा र कैलालीमा सोही उमेर समूहका बालबालिकालाई फाइजर खोप लगाउने योजना रहेको उनको भनाइ छ ।
कैलालीका अभिभावकहरूले भने आफ्ना बालबालिकाहरूलाई चाँडै खोप लगाउन पाए ढुक्क हुने बताएका छन् । डोटीमा खोप पठाइसकिएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीले जनाएको छ ।
सुदूरपश्चिममा ३ लाख २७ हजार ४८१ लक्षित बालबालिकालाई खोप उपलब्ध गराउने योजना रहेको सामाजिक विकास मन्त्रालयको तथ्यांक छ ।
त्यसमध्ये कैलाली र डडेल्धुरा बाहेक ७ जिल्लाका २ लाख ९ सय ९७ बालबालिकालाई मात्रै अहिले मोडर्ना खोप लगाउने योजना रहेको मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले बताए ।