अत्तरिया - धनगढी विमानस्थलको प्रस्तावित नक्सा तयार पारिएको छ । क्षेत्रीय विमानस्थलका रूपमा विकास गर्ने उद्देश्य सहित जग्गा अधिग्रहणका लागि एक अर्ब रुपैयाँ विनियोजन गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रस्तावित नक्सा तयार पारेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले धनगढी विमानस्थलको स्तरोन्नतिका लागि तयार गरेको यो नक्सा मन्त्री परिषद्को बैठकबाट पारित भए पछि कार्यान्वयनमा आउनेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणको बोर्ड बैठकबाट यो नक्सा पारित भइसकेको छ ।
प्रधानमन्त्री शेर बहादुर देउवाको निर्देशन तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको नेतृत्वमा धनगढी विमानस्थलको स्तरोन्नतिको प्रक्रिया अघि बढेको हो । हाल ८४ बिगाहामा फैलिएको धनगढी विमानस्थलको स्तरोन्नतिका लागि नागरिक उड्डयन प्राधिकरणले थप २५८ बिगाहा जग्गा अधिग्रहण गर्ने प्राधिकरणका निर्देशक मुरारी भण्डारीले बताए ।
क्षेत्रीय स्तरको विमानस्थलका लागि २४४ बिगाहा जग्गा आवश्यक पर्ने बताइएको छ । हाल १८०० मिटर लम्बाई रहेको धनगढी विमानस्थलको धावन मार्ग स्तरोन्नतिका क्रममा २५०० मिटर पु¥याईनेछ ।
निर्देशक भण्डारीले २५०० मिटर धावन मार्गका लागि आवश्यक पर्ने सबै पूर्वाधारहरू तयार गरिने बताए । निर्देशक भण्डारीका अनुसार हालको धावन मार्गलाई ट्याक्सी वे बनाइनेछ । र हालको धावनमार्गबाट उत्तरतर्फ २५०० मिटरको धावन मार्ग निर्माण गरिनेछ । प्रस्तावित नक्सा अनुसार धनगढी विमानस्थल पूर्वमा खुटिया–मटियारी सडकसम्म विस्तार हुनेछ ।
पश्चिममा धनगढी–अत्तरिया जोड्ने ६ लेन सडकबाट करिब तीन सय पूर्वबाट विमानस्थलका लागि जग्गा अधिग्रहण गरिने बताइएको छ । उत्तरमा करिब चार सय मिटरसम्म जग्गा अधिग्रहण गरिनेछ ।
दक्षिणमा भने ५० मिटरदेखि डेढ सय मिटरसम्म जग्गा अधिग्रहण गरिनेछ । विमानस्थलको पूर्व तर्फ करिब ८०० मिटर क्षेत्रफल भने सुरक्षाका लागि आवश्यक पूर्वाधार निर्माण गरिनेछ । जहाँ सुरक्षाका लागि आवश्यक उपकरणहरू राखिनेछन् ।
विमानस्थलको स्तरोन्नतिको प्रक्रिया अघि बढेसँगै अधिग्रहण गरिने क्षेत्रभित्र पर्ने जग्गाको किनबेच र नक्सा पासमाथि पनि रोक लगाइएको छ । सरकारले जग्गा अधिग्रहणका लागि पहिलो चरणमा एक अर्व विनियोजन गरेको छ । अधिग्रहणका लागि थप चार अर्व आवश्यक पर्ने बताइएको छ ।