बाजुरा - मौसममा बदली भएसँगै तराईका जिल्लाहरुमा बर्ष हुनुका साथै हिमाली र पहाडी जिल्लामा हिमपात सुरु भएको छ । तीन देखिको मौसममा बदलीका कारण गएरातिवाट सुदूरपश्चिमका तराईका जिल्ला कैलाली कञ्चनपुरमा सामान्य बर्षा हुनुका साथै पहाडी तथा हिमाली जिल्लाहरुमा हिमपात सुरु भएको हो ।
बर्षा र हिमपातका कारण जाडो पनि ह्वात्तै बढेको छ । हिमाली क्षेत्रका धेरै ठाउँमा गए रातिदेखि परेको हिमपातले जनजीवन निकै कष्टकर बनाएको छ । लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान हिमपात र पानी परेपछि भने खुसी भएका छन् ।
हिमपातका कारण नागरिक समस्यामा परेका छन। आज पनि पश्चिमी वायुको प्रभावका कारण हिमाली जिल्लामा हिमपात हुने र अरु क्षेत्रका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । हिमाली जिल्ला बाजुराको सदरमुकाम मार्तडीसहित यहाँका नौवटै पालिकामा हिमपात भइरहेको छ।
हिमपातका कारण पूर्वी उत्तरी भेगका हिमाली गाउँपालिकाको विच्छ्या, रुगिनका स्थानीय बढी प्रभावित बनेका छन्। त्यहाँ मौसम बदली भएपछि हिमपात हुने गरेकाले सो क्षेत्रका स्थानीय बढी प्रभावित हुने गरेका छन्।
यसैगरी लामो समयदेखि सुक्खा रहेपछि समस्यामा परेका किसानलाई भने हिमपात भएपछि गहुँबालीमा राहत पुगेको छ। हिउँदे वर्षाका कारण पहाडी क्षेत्र तथा तराईका जिल्लामा लगाइएका विभिन्न बालीलाई राहत भएको कृषकले बताएका छन्। वर्षाले विभिन्न अन्नबाली, फलफूल र तरकारीलगायतका किसानलाई फाइदा पुगेको हो ।
जिल्लाका बडीमालिका बूढीनन्दा, दहडाँडा, बडालेखलगायतका उच्च हिमाली क्षेत्र यति बेला पुस महिनाको मध्यतिर सेताम्मे बनेका छन्। जिल्लाका हिमाली गाउँपालिका, बडिमालिका नगरपालिका, गौमूल गाउँपालिका, त्रिवेणी नगरपालिकाका केही स्थानमा हिउँ पर्न थालेपछि गाईबस्तुलाई पानी खुवाउनसमेत समस्या भएको छ।
जिल्लाका हिमाली गाउँपालिकाको गुम्बा, बडिमालिका नगरपालिकाको ढम्कने, बूढीनन्दा नगरपालिकाको पाण्डुसैनलगायतका क्षेत्रका किसानलाई भने समस्या भएकोे छ। तीनदेखिको मौसम बदलीसँगै पानी पर्न थालेपछि यहाँका शैक्षिक संस्था बन्द भएका छन्। लगातारको मौसम बदलीले गर्दा पानी पर्न थालेका कारण चिसो बढ्दै गएकाले शैक्षिक संस्था बन्द भएका हुन्।
यहाँका कतिपय शैक्षिक संस्थाले सञ्चालन गरेका परीक्षासमेत प्रभावित बनेका छन्। गए रातिदेखि हिमपात सुरु भएपछि विद्यालयमा बालबालिका आउन सक्ने अवस्था नभएकाले विद्यालय बन्द गर्नुपरेको मालिका नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक शुभराज पाध्यायले बताए। जाडोका कारण बालबालिका बिरामी हुनसक्ने भएकाले हिमपात नरोकिएसम्म विद्यालय बन्द हुने प्रधानाध्यापक पाध्यायले बताए।
जिल्लामा हिमपात सुरु भएपछि लेकाली भेगमा रहेका जङ्गली जनावरको चोरी शिकारी बढ्ने भएको छ। हिमपातका कारण जङ्गली जनावर न्यायो खोज्दै बेसीमा आउने गरेकाले स्थानीयले भाला छुरालगायतका साधनले मारेर सिकार गर्न गरेका छन्।
लेकाली भेगमा रहेका हरिण, मृत, रतुवा, कालिज घोरललगायतका जङ्गली जनावरको सहजैरुपमा उनीहरुले चोरी शिकारी गर्ने गरेका छन्। हिमपात भएपछि स्थानीयले समूह बनाउँदै उनीहरुलाई पासोमा वा अन्य हतियार प्रयोग गर्दै सिकार गर्ने गरेका छन्।
यहाँका हिमाली गाउँपालिका, स्वामीकार्तिक, जगन्नाथ, गौमूल, बडीमालिका, त्रिवेणीलगायतका पालिकामा स्थानीयले जङ्गली जनावरको चोरी सिकार गर्ने गरेका हुन्। जङ्गली जनावरको छाला निकालेर बिक्री पनि गर्ने गरेको पाइन्छ।
सरकारले वन्यजन्तु सिकार गर्न नपाइने गरी कानुन बनाएको भएपछि हिमाली तथा पहाडी जिल्लाका स्थानीयले लुकीछिपी जङ्गली जनारको सिकार गर्न छोडेका छैनन्। हिमपात भएपछि घरै जङ्गली जनावर वास खोज्दै आउने गरेकाले सिकार गर्न झन् सहज हुने गरेको छ।
जङ्गली जनावरको चोरी शिकारी रोक्नका लागि डिभिजन वन र प्रहरीको सुरक्षामा निगरानी आवश्यक रहेको छ।