अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाको भवन निर्माण कार्य निकै सुस्त गतिमा भैरहको छ । २० महिना भित्रै काम सक्ने गरि २०७६ साल मंसिर २० गते शिलन्याश गरिएको भवन निर्माण कार्य निकै सुस्त गतिमा भैरहको पाइएको हो ।
गोदावरी नगरपालिका वडा नं २ तेघरी ब्यारेक नजिकै १५ कठ्ठा जग्गामा नगरपालिकाको प्रशासनिक भवन निर्माण भैरहेको छ । स्थापनाकाल देखी भाडाकै घरवाट प्रशासनिक कामहरु संचालनमा हुदै आए पनि जनप्रतिनिधि आएपछि नगरपालिकाको आफ्नै भवन निर्माणका लागि २०७६ मंसिर २ गते शर्मा एण्ड कम्पनीसंग १० करोड बढीमा ठेक्का सम्झौता गरिएको थियो ।
एसियाली बिकास बैकंको सहयोगमा क्षेत्रीय शहरी विकास आयोजना कार्यन्व्यन ईकाइले बनाउन लागेको भवन २० महिना अर्थात २०७८ साल साउन महिना भित्रै सक्ने गरि काम सुरु भएको थियो । तर भवन निर्माणको अबधि सकिएको ४ महिना बढी बितिसक्दा पनि भवन निर्माणको कामले पूर्णता पाउन सकेको छैन् ।
पहिलो पटकको म्याद सकिएपछि अहिले दोस्रो पटक २०७८ माघ महिना सम्मका लागि थप गरिएको छ । अहिले नगरपालिकाको भवन निर्माणको काम ८० प्रतिशत सम्पन्न भैसकेको निर्माण कम्पनीले दाबी गरेको छ ।
भौतिक रुपमा ८० प्रतिशत प्रगति भएको बताउदै निर्माण कम्पनीका प्रतिनिधि रोशन भट्टले अहिले फिनिसिङका सामाग्रीहरु पनि भित्रिसकेको जानकारी दिए ।
भवन निर्माण सुरुका दिनहरुमा केही सुस्त गतिमा काम भएपनि अहिले भने तिब्र रुपमा काम भैरहेको उनले बताए । अहिले त्यहाँ दैनिक १ सय भन्दा बढी मजदुरहरु काम गरिरहेका छन् ।
सुरुको एक बर्ष जग र पिल्लर हाल्नमै धेरै समय लागेको र बिचमा कोरोना महामारीका कारण तोकिएको समयअबधि भित्रै काम सम्पन्न हुन नसकेको निर्माण कम्पनीले जनाएको छ । दोस्रो पटक थपिएको म्याद अबधि यही आउँदो माघ २० गते सकिदैछ ।
यही म्याद भित्र पनि काम नसकिने देखिएपछि फेरि तेस्रो पटक म्याद थपका लागि अनुमति मागिने उनले बताए ।
उनले आगामी बैशाख महिना सम्म भवन निर्माणको काम पूर्ण रुपमा सम्पन्न हुने बताएका छन् । क्षेत्रीय सहरी विकास आयोजनाले सुदुरपश्चिम प्रदेशका चार बटा स्थानिय तहमा काम गरिरहरेको छ ।