धनगढी - विभागीय टीम एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । एपिएफले प्रदेश १ लाई पराजित गर्दै सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो ।
धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको फाईनल खेलमा प्रदेश १ लाई ७ विकेटले हराउँदै च्याम्पीयन भएको हो । उपाधि जितेसँगै विभागीय टीम एपिएफले नगद ५ लाख सहित ट्रफी र मेडल प्राप्त गरेको छ ।
उपविजेता भएको प्रदेश १ ले नगद ३ लाख सहित ट्रफी र मेडल पाएको छ । एपिएफले टस जितेर पहिले फिल्डिङ रोजेपछि प्रदेश १ ले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट क्षतिमा ६७ रन बनायो । खराब ब्याटिङ गरेको प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले ३४ रन बनाईन् । अप्सरी वेगमले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रन अंक जोड्न सकेनन्।
एपिएफका लागि सीता राना मगरले ३ र रेखा रावलले २ विकेट लिईन् । प्रदेश १ ले दिएको ६८ रनको लक्ष्य एपिएफले १४ दशमलव २ ओभरमा ३ विकेट क्षतिमा पुरा गर्यो । एपिएफका लागि ओपनर ज्योती पाण्डेयले अविजित ३७ रन बनाईन् ।
ममता चौधरीले १७ रन थपिन् । ७ रनमा दुई विकेट गुमाएर दबाबमा आएको एपिएफलाई ज्योती र ममताले जितसम्म डोराएकी हुन् । प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले ३ विकेट लिईन् । खेलमा एपिएफकी सीता राना मगर प्लेयर अफ द म्याच भईन् ।
नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सह आयोजनामा पुस ३ गतेदेखि सुरु भएको प्रतियोगिता आईतबार सकिएको छ ।
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिमाथि एपिएफले कब्जा गर्दा प्रतियोगिताका विधामा भने प्रदेश १ ले कब्जा जमाएको छ । प्रतियोगिताकै उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सओम्यान र उत्कृष्ट बलर गरी तीन वटै विधामा प्रदेश १ ले बाजी मारेको हो । प्रदेश १ की कप्तान रुविना क्षेत्री प्रतियोगिताकै उत्कृष्ट खेलाडी भईन् ।
उनले नगद २५ हजार सहित मेडल पाईन् । उनले प्रतियोगितामा ५ खेल खेल्दा १५७ रन बनाईन । जसमा उनको एक अर्धशतक सामेल रहेको छ । सर्वाधिक ७६ रनको पारी खेलेकी उनले प्रतियोगितामा १९ चौका प्रहार गरिन् । बलिङ तर्फ पनि उनी सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो नम्बरमा रहँदा ८ विकेट हात पारिन् ।
प्रतियोगिताभर १६ ओभर बलिङ गरेकी उनले २ दशमलव ७५ को ईकोनोमीमा ४ ओभर मेडन राख्दै ४४ रन खर्चिन् । प्रतियोगितामा प्रदेश १ की अप्सरी वेगम उत्कष्ट ब्याट्ओम्यान भईन् । उनले प्रतियोगितामा एक सय ७६ रन बनाईन् ।
जसमा उनका दुई वटा अर्धशतक बनाएकी थिईन् । प्रतियोगितामा दोहोरो अर्धशतक बनाउने एक्ली खेलाडी वेगमले १ छक्का हाल्दा ९ चौका प्रहार गरिन् । प्रतियोगितामा प्रदेश १ कै अलिशा खाडिया उत्कृष्ट बलर भईन् ।
उनले प्रतियोगिताका ५ खेलमा ९ विकेट लिईन् । १७ ओभर बलिङ गरेकी उनले २ दशमलव ५२ को ईकोनोमी राख्दा ५ ओभर मेडन गर्दै ४३ रन खर्चिन ।