अत्तरिया - कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम राजधानी कप २०७८ को सम्पन्न भएको छ । पिएफए स्पोर्टस क्लबको आयोजनामा यही पुस २ गतेवाट सुरु भएको तेस्रो संस्करणको सुदूरपश्चिम राजधानी कप महिला तथा पुरुष फुटबल प्रतियोगिताको हिजो फाईनल खेल भएसंगै प्रतियोगिता सम्पन्न भएको हो ।
सुदूपश्चिममा पहिलो पटक महिला र पुरुष दुवै तर्फका खेलहरु एक साथ भएको उक्त प्रतियोगितामा हिजो दुवै फाईनल खेलहरु भएका थिए । राजधानी कपको उपाधी पुरुष तर्फ आयोजकको टीम वनदेवी युवा क्लब विवाईसी तेघरी र महिला तर्फ धनगढी जुगेडाको मनकामना युवा क्लबले हात पारेको छ ।
सुरुमा महिला तर्फको फाईनल खेल भएकोमा मनकामना युवा क्लबले कञ्चनपुरको रोयल गोखार्जलाई पराजित गरेको हो ।
धनगढीको मनकामना युवा क्लब ३–० गोल अन्तरले बिजयी भएको हो । खेल अवधीभर उत्कृष्ट प्रर्दशन गरेकी मनकामनाकी अन्जना राई खेलको प्लेयर अफ द म्याच घोषित हुदै उनले नगद ३ हजार हात पारेकी थिइन् ।
महिलाको खेल सकिए लगत्तै पुरुष तर्फको खेल भएको थियो । जसमा रेसिङ सहारा कोहलपुरलाई पराजित गर्दै बनदेवी युवा क्लब ३–२ गोलका साथ बिजयी भएको हो । निकै प्रतिस्पधात्म भएको खेलमा खेलको केही मिनेटमै रेसिङ सहारा कोहलपुरले एक गोल गरेको थियो ।
सुरुवातमै एक गोल खाएपछि विवाईसी दबाबमा पुगेको थियो । तर त्यो गोल खाएको समय लामो समय टिक्न सकेन । त्यसको केही मिनेटमै विवाईसी पनि गोल फर्काउन सफल भएको हो । पहिलो हाफकै खेलमा फेरि विवाईसीका तर्फवाट अर्को गोल भएको थियो ।
दोस्रो हाफको सुरुवातमा कुनै पनि टिमवाट गोल हुन नसकेपनि अन्त्ममा विवाईसीले पेनाल्टी पायो र फेरि एक गोल गर्न सफल भयो । त्यसपछि झन दबाबमा रहेको रेसिङ सहारा कोहलपुरले खेलको अन्तमा एक गोल फर्काएपनि त्यो गोल भने जितका लागि प्रयाप्त हुन सकेन ।
त्यसपछि बनदेवी युवा क्लब ३–२ गोलका साथ बिजयी भयो । खेलअवधीधभर उत्कृष्ट प्रर्दशन गरेका बिवाईसिका खेलाडी दिपेन्द्र मलासी प्लेयर अफ द म्याच घोषित हुदै नगद ४ हजार हात पारे ।
बिजेता बनेसंगै संगै पुरुष तर्फ बनदेवी युवा क्लब तेघरीले ५ लाख र उपविजेता बजेको रेसिङ सहाराले २ लाख ५० हजार नगद सहित ट्रफी र मेडल प्राप्त गरेका छन् भने महिला तर्फको विजेता बनेको मनकामना युवा क्लबले १ लाख ५० हजार र उपविजेता बनेको कञ्चनपुरको रोयल गोखार्जले ७५ हजार रुपैया नगद सहित ट्रफी र मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।
महिला तर्फ प्रतियोगीताको बेस्ट डिफेन्डरमा मनकामनाकी सरस्वती रोकाया, बेस्ट मिडफिल्डरमा रोयल गोर्खाजकी अन्जली चन्द, सर्वाधिक गोलकर्तामा मनकामनाकी अन्जना राई र बेस्ट गोलकिपरमा मनकामनाकी लिला जोशी घोषित भईन ।
प्रतियोगीताको राईजिङ प्लेयरमा अत्तरिया फुटबल एकेडेमीकी सोनम शाह घोषित भएकी थिईन । उनिहरुले समान १० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगीता अवधीभर उत्कृष्ट प्रर्दशन गरेकी मनकामनाकी तुलसा बोहरा प्लेयर अफ द टुर्नामेन्ट घोषित हुदै नगद १५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरिन ।
पुरुष तर्फ प्रतियोगीताको बेस्ट डिफेन्डर वनदेवी युवा क्लबका धनराज थापा, सर्वाधिक गोलकर्ता वनदेवीकै कुवेर सिँह, बेस्ट मिडफिल्डर रेसिङ सहाराका माधव भण्डारी, उत्कृष्ट गोलरक्षक वनदेवीका आकाश बुढा र राईजिङ प्लेयर वनदेवीकै योगेन्द्र खड्का घोषित भएका छन् ।
उनीहरु सबैले समान १५ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । यस्तै वनदेवी युवा क्लबका खेलाडी दिपेन्द्र मलासी प्रतियोगीता भरिकै उत्कृष्ट खेलाडी घोषित भएका थिए । उत्कृष्ट खेलाडी हुदै उनले नगद २० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
उनीहरु सबैलाई कार्यक्रमका प्रमुख अतिथी गोदावरी नगरपालिकाकी उप प्रमुख रत्ना कडायतल पुरुस्कार हस्तान्तरण गरेकी थिइन् । खेलहरु गोदावरी नगरपालिका वडा नम्बर ८ मा रहेको शिवशक्ती युवा क्लबको खेल मैदान स्याउले भएका थिए ।