अत्तरिया -गोदावरी नगरपालिकाको राजस्व संकलनमा आर्थिक बर्ष २०७४/०७५ को तुलनामा आर्थिक बर्ष २०७५/०७६ मा ८५४ प्रतिशतले बृद्धि भएको छ । नगरपालिकाले आर्थिक बर्ष २०७५/०७६ मा २१ करोड ८६ लाख ४६ हजार ४ सय १ रुपैयाँ राजश्व संकलन भएको छ जुन अघिल्लो आर्थिक बर्षको तुलनामा १९ करोड ३० लाख ४४ हजार १ सय ९५ ले बढी हो ।
आर्थिक बर्ष २०७४/०७५ मा २ करोड ५६ लाख २ हजार २ सय ६ रुपैयाँ राजश्व संकलन भएको राजश्व शाखा प्रमुख राजेश जोशीले बताए । आर्थिक बर्ष २०७५/०७६ मा सम्पति कर तथा भूमीकर बाफत १ करोड ६ लाख ५० हजार २ सय ५ रुपिया, घर जग्गा वहाल कर बाफत २० लाख ९२ हजार , व्यवसाय कर बाफत ३२ लाख ५६ हजार ३ सय ७७ र विज्ञापन कर बाफत ८ लाख २५ हजार ५ रुपिया संकलन भएको छ ।
त्यस्तै पार्किङ शुल्क बाफत ८ लाख ८ हजार ८ सय ८ रुपैयाँ , कबाडी कर बाफत १० लाख ६५ हजार , प्राकृतिक श्रोत उपयोग कर बाफत ११ करोड ९० लाख र घर जग्गा रजिष्ट्रेशन शुल्क बाफत ५ करोड राजश्व संकलन भएको राजश्व प्रशासन प्रमुख जोशीले बताए ।
करको दायरा बढ्दा राजश्व संकलनमा बृद्धि
गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेम राज बिष्टले नगरपालिकाले करको दायरा बढाउँदा राजश्व संकलनमा वृद्धि भएको बताए । उनले करको दर पुरानै रहेपनि करको दायरा बढाउँदा राजश्व संकलनमा वृद्धि भएको बताए ।
‘नगरपालिकाले जनता संगको समन्वय गरेर नै करको दर निर्धारण गरेको छ । प्रत्यक्ष जनतासंग लाग्ने करको दर घटाईएको छ , एकिकृत सम्पति करको दर पनि चालु आर्थिक बर्षमा नगरपालिकाले घटाएको छ ।’ प्रमुख प्रशासकिय अधिकृत बिष्टले भने – ‘नगरपालिकाले करको दायरा फराकिलो बनाएको छ यसअघि करको दायरा भन्दा बाहिर रहेको क्षेत्र समेटिएकाले राजश्व संकलनमा उल्लेख्य बृद्धि भएको छ ।’
उनले प्राकृतिक श्रोत उपयोग कर स्थानिय निकाय मार्फत संकलन गर्ने र मालपोत कार्यालयमा नगरबासिले बुझाएको करको ६० प्रतिशत नगरपालिकमै फिर्ता आउने भएकाले पनि नगरपालिकाको राजश्व संकलनमा बृद्धि भएको बताए ।
करको दायरा बृद्धि हुँदै कर संकलन पनि बढ्दै गएकाले चालु आर्थिक बर्षमा नगरपालिकाले संकलन गर्ने राजश्व अझै बढ्ने प्रमुख प्रशासकिय अधिकृत बिष्टले बताए ।