धनगढी- नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सुदूरपश्चिम प्रदेशबाट सभापति सहित केन्द्रीय समितिमा १७ जनाको प्रतिनिधित्व भएको छ । नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट केन्द्रीय सभापति, सहमहामन्त्री र केन्द्रीय सदस्यमा विजयी भएका हुन्।
त्यस्तै, खुला केन्द्रीय सदस्यमा चार जना, खुला महिला केन्द्रीय सदस्य दुई जना, प्रदेश भूगोलबाट तीन जना, थारु महिलाबाट एक जना, थारु खुलाबाट एक जना, पिछडिएको क्षेत्रबाट एक, दलितबाट दुई र खस आर्यबाट एक जना निर्वाचित भएका छन् ।
१४ औं महाधिवेशनमा सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएका छन् । भने सहमहामन्त्रीमा बाजुराका बद्रिप्रसाद पाण्डे निर्वाचित भएका छन् । उनी सहमहामन्त्री तर्फ पिछडिएको क्षेत्रबाट निर्वाचित भएका हुन् ।उनले सहमहामन्त्रीमा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई पराजित गरे ।
सुदूरपश्चिम प्रदेशबाट सभापति र विभिन्न क्लस्टरबाट केन्द्रीय सदस्यका लागि ४८ जनाले प्रतिस्पर्धा गरेका थिए । खुला केन्द्रीय सदस्यका लागि सुदूरपश्चिम प्रदेशबाट १३ जनाले उम्मेदवारी दिएकोमा चार जना निर्वाचित भएका छन् ।
खुला केन्द्रीय सदस्यमा एनपी सावद (कञ्चनपुर), रमेश लेखक (कञ्चनपुर), दिलेन्द्रप्रसाद वडू (दार्चुला) र नैनसिंह महर (डडेल्धुरा) विजयी भएका हुन् ।त्यस्तै, खुला महिला केन्द्रीय सदस्यमा डाक्टर आरजू राणा देउवा (कैलाली) र ईश्वरी न्यौपाने (कैलाली) निर्वाचित भएका छन् ।
प्रदेश भूगोलबाट महिलातर्फ कैलालीका सुशीला मिश्र भट्ट र कैलालीकै रणबहादुर रावल तथा कञ्चनपुरका यज्ञराज जोशी निर्वाचित भएका छन् ।
देश भूगोलबाट महिला केन्द्रीय सदस्यमा तीन जना र खुलातर्फ छ जना उम्मेदवार रहेका थिए । त्यस्तै, महिला थारुतर्फ कैलालीका जीवन राना निर्वाचित भएकी छिन् । भने थारु खुला केन्द्रीय सदस्यमा कैलालीका रामजनम चौधरी निर्वाचित भएका छन् ।
पिछडिएको क्षेत्रबाट बझाङका अर्जुनजंगबहादुर सिंह केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।यस्तै दलितबाट केन्द्रिय सदस्यमा धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड र बझाङका प्रतिनिधि सभाका सदस्य प्रकाश स्नेही रसायली निर्वाचित भएका छन् । खस आर्यबाट केन्द्रीय सदस्यमा पूर्व सञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाह निर्वाचित भएका छन् ।