धनगढी-धनगढी मा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको समुह ए बाट प्रदेश नम्बर १ विजेता र लुम्बिनी प्रदेश उप विजेता बनेका छन् । समुह ए बाट यसअघि नै सेमिफाईनल पुगेका दुबै टोलीमध्ये लुम्बिनीलाई प्रदेश १ ले हराएको हो । यो खेलको नतिजापछि प्रदेश १ समुह ए को विजेता र लुम्बिनी उप विजेता बनेका हुन् ।
फाप्ला मैदान मा मंगलबार भएको पहिलो खेलमा प्रदेश नम्बर १ ले लुम्बिनी प्रदेशलाई ६७ रनले हराएको हो । प्रदेशनम्बर १ ले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ३ विकेट क्षतिमा ११४ रन बनायो ।प्रदेश नम्बर १ का लागि अप्सरी वेगमले सर्वाधिक ४४ रन बनाईन् । टीमका लागि का जोल श्रेष्ठले ४० रन बनाउँदा कप्तान रुविना क्षेत्रीले १५ रन थपिन् ।
दोस्रो विकेटका लागि काजोल र अप्सरीले ६२ रनको साझेदारी गर्दै टीमलाई उच्च स्कोर तिर डोराईन् । लुम्बिनी प्रदेशका लागि नेरी थापा, मधु डिसी र सरस्वती पुनले एक एक विकेट लिईन् । ११५ रनको विजयलक्ष्य पछ्याएको लुम्बिनीले ४७ रन मात्रै बनाउन सक्यो । निर्धारित २० ओभर मा लुम्बिनीले ९ विकेट क्षतिमा ४७ रन बनायो ।
लुम्बिनीको पारीमा कुनै पनि खेलाडीले दोहोरो रन अंक जोड्न सकेनन् । सरस्वती पुन र नितु भण्डारीले बनाएको नौ रन नै सर्वाधिक हो । तीन खेलाडी शुन्यमा आउट भए । तीनजना रन आउट भए । प्रदेश नम्बर १ का लागि कप्तान रुविना क्षेत्रीले तीन विकेट लिइन् । अलिशा खाडियाले दुई र संगिता राईले एक विकेट लिईन् । खेलमा प्रदेश नम्बर १ की कप्तान रुविना क्षेत्री प्लेयर अफ द म्याच भईन् ।
वागमतीको सान्तवना जित
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता मा वागमती प्रदेशले सान्तवना जित हात पारेको छ । समुह ए अन्तर्गतको अन्तिम लिग खेलमा वागमति ले कर्णाली प्रदेशलाई ७९ रनले हराएको हो । सान्तवना जित सँगै वगमतीले प्रतियोगितालाई समापन गरेको छ भने कर्णालीले भने जित विहीन प्रतियोगिता टुङगाएको छ ।
फाप्ला मैदानमा भएको मंगलबारको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै वागमति प्रदेशले निर्धारित २० ओभरमा ६ विकेट क्षतिमा १३० रन बनायो । वागमतीका लागि कञ्चन श्रेष्ठले अविजित ४७ रनको पारी खेलिन् । त्यस्तै हेलिशा गुरुङले २५ रन र अस्मिना कर्माचार्यले १६ रन बनाईन् । पहिलो विकेटका लागि कञ्चन र हेलिशाले ७२ रनको साझेदारी समेत गरिन् । कर्णाली प्रदेशका लागि दिव्या धामीले ३ विकेट लिईन् । एन्जिला क्षेत्रीले २ र निशा पराजुलीले एक विकेट लिईन् ।
१३१ रनको विजय लक्ष्य पछ्याएको कर्णालीप्रदेश १८ दशमलव ३ ओभरमा ५१ रनमा समेटियो । कर्णालीका लागि लक्ष्मी रिमालले सबैभन्दा बढी १४ रन बनाईन् । अन्य खेलाडीले दोहोरो रन अंक बनाउन सकेनन् । कर्णालीका लागि दीपा रानाले ९ रन बनाईन् । अन्य खेलाडीले ५ रन पनिपार गर्न सकेनन् । वागमतीका लागि आरती विडारी र विपिशा शाहीले तीन तीन विकेट लिईन् । त्यस्तै सोनी पाख्रिन, खुशी डंगोल र ज्ञानुका बस्नेतले एक एकविकेट लिईन् । खेलमा वागमति की कञ्चनश्रेष्ठ प्लेयर अफ द म्याच भईन् ।
प्रतियोगिता अन्तर्गत बुधबार समुह बी का दुई खेल हुनेछन् । पहिलो खेलमा सुदुरपश्चिम प्रदेश र विभागीय टीम एपिएफ क्लब खेल्नेछन् । बुधबारकै अर्को खेलमा गण्डकी प्रदेश र प्रदेश नम्बर २ खेल्ने छन् । नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सह आयोजनामा सञ्चालन भईरहेको प्रतियोगिता पुस ११ गतेसम्म सञ्चालन हुनेछ । ७प्रदेश र एक विभागीय गरी ८ टिम सहभागी प्रतियोगिता दुई समूहमा विभाजन गरी खेलाइदैछ ।
समूह ए मा प्रदेश नम्बर १, लुम्बिनी प्रदेश, बाग्मती प्रदेश, कर्णाली प्रदेश र समूह बी मा नेपाल एपीएफ क्लब, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर २ रहेका छन् । प्रतियोगितामा प्रथम हुने टिमले ५ लाख, द्वितीयले ३ लाख, ओम्यान अफ द सिरिज २५ हजार, बेष्ट बलरले १५ हजार तथा बेस्ट व्याट्स ओम्यानले १५ हजार, ओम्यान अफ द म्याचले २ हजार पुरस्कार प्राप्त गर्ने छन् ।