अत्तरिया - देशभर मलको चरम अभाव भएको छ । गहुँ र तरकारी बालीका लागि चाहिने मल नपाएको किसानहरु निराश बनेका छन् । किसानहरु मल लिनका लागि पुग्ने गरे पनि रित्तो हात फर्किने गरेका छन् ।
कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सहकारी मार्फत किसानलाई मल बिक्री गर्दै आएको छ ।
यद्धपी यी कम्पनीका गोदाममै मल रित्तिए पछि सहकारीले समेत पाएका छैनन् । गहुँ छर्ने बेलामा डीएपी र अहिले उम्रिएपछि युरिया मल राख्नुपर्नेमा देशभर मलको अभाव छ । देशभर एक लाख ३० हजार टन रासायनिक मलको माग रहेको छ ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार गहुँ र तरकारी खेतीका लागि यो सिजनमा ६० हजार टन डीएपी र ७० हजार टन युरिया माग छ ।
तर अहिले कृषि सामग्रीको गोदाममा नौ हजार आठ सय टन युरिया र तीन हजार एक सय २२ टन डीएपी तथा साल्ट ट्रेडिङसँग नौ हजार एक सय ६६ टन युरिया गरी कुल २२ हजार १ सय ३८ टन मात्रै रासायनिक मल मौज्दात छ ।
१५ हजार टन युरिया आपूर्तिको क्रममा छ । चालु वर्षका लागि ३ लाख ९ हजार टन खरिदको स्वीकृति भए पनि दुई लाख ३२ हजार टन मल आउने टुङ्गो नै छैन । ७६ हजार पाँच सय टन मात्रै आपूर्ति भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य निरन्तर बढेपछि आपूर्तिकर्ताले नल्याएको कृषि सामग्री कम्पनीका प्रवक्ता विष्णु पोख्रेलले बताउनुभएको छ । यता कृषि सामग्री कम्पनी लिमिटेड प्रदेश कार्यालय धनगढीमा पनि मल छैन ।
जसका कारण कृषि सामग्री कम्पनीले यस वर्ष हिउँदे खेतीका लागि किसानहरुले माग गरेको आधा पनि मल आपूर्ति गर्न सकेको छैन । यस बर्षका लागि केन्द्रसँग ६ हजार टन डिएपी र पाँच हजार टन युरिया माग गरिएको भएपनि १ हजार तीन सय १० टन डिएपी र तीन हजार चार सय ५० टन युरिया मात्र आएको कार्यालय प्रमुख नवलसिंह बोगटीले जानकारी दिए ।
किसानले गहुँ छरिसकेपछि आएको ५५ टन डिएपी भने कृषिको गोदाममै थन्किएको छ । गहुँ छर्ने सिजनमा किसानले मलको चरम अभाव खेपेका थिए ।