काठमान्डौ -बिधुत खपत बढाउनका लागि चालिएका कदम र जाडो बढेसँगै बिधुतको आन्तरिक माग ह्वात्तै बढेको छ । नेपाल विद्युत् प्राधिकरणको तथ्याङ्कअनुसार,गतवर्षको तुलनामा यस वर्षको विद्युत्काे उच्च माग (पिक डिमाण्ड) ३ सय मेगावाटको हाराहारीमा बढेको हो ।
आन्तरिक रूपमा उत्पादन भएको विद्युत् खपत गर्न नसकी खेर जाने अवस्था आएपछि खपत बढाउन विद्युतीय उपकरणको प्रयोग बढाउने र उद्योगहरुलाई चाहिएजति विद्युत् उपलब्ध गराउने नीति लिई सोहीअनुसार काम भइरहेको छ ।
विद्युतीय चुल्हो, एयर कन्डिसनरलगायत विद्युतबाट चल्ने घरायसी सामानको प्रयोगमा भएको वृद्धि, विद्युत्बाट सञ्चालन हुने यातायातका साधनको वृद्धि, ठूला उद्योगलाई उपलब्ध गराइएको पर्याप्त विद्युत्लगायतका कारणले दैनिक रूपमा खपत बढिरहेको छ । प्राधिकरणले कात्तिकको अन्तिमबाट नेपालकै ठूलो सिमेन्ट उद्योग होङ्सीलाई ३० मेगावाट विद्युत् उपलब्ध गराएकाले पनि माग बढेको हो ।
विद्युत्को माग क्षमता (मेगावाट) र ऊर्जा (युनिट) दुवैमा बढिरहेको छ । मंंसिर २७ गते प्रणालीमा विद्युत्को उच्च माग १५३९ मेगावाट थियो । यो माग गत वर्षको सोही दिनको १२१७ मेगावाटको तुलनामा ३२२ मेगावाट बढी हो । यस आधारमा विद्युत्को पिक डिमान्ड गतवर्षको सोही दिनको तुलनामा २६.५ प्रतिशत वृद्धि भएको छ ।
मंसिर २७ गतेको प्रणालीको उच्च माग पूर्तिका लागि प्राधिकरणका विद्युत्गृहहरूबाट ५४० मेगावाट, प्राधिकरणका सहायक कम्पनीका विद्युत्गृहहरूबाट ५२९ मेगावाट, निजीक्षेत्रका विद्युत्गृहहरूबाट ४२५ मेगावाट र भारतबाट २५ मेगावाट आयात गरिएको थियो । सोही दिन पिक समयमा पनि ४ मेगावाट विद्युत् भारततर्फ निर्यात गरिएको थियो ।
विद्युत् बढी खपत हुने काठमाडौं उपत्यकासहित आसपासको क्षेत्रमा विद्युत् माग पनि ह्वात्तै बढेको छ । काठमाडौं उपत्यकाको विद्युत्को अधिकतम माग ९० मेगावाटको हाराहारीमा वृद्धि भएको छ । गतवर्ष २९३ मेगावाट रहेको काठमाडौं उपत्यकाको उच्च माग यस वर्ष ३८२ मेगावाट पुगेको छ ।
ऊर्जाका मागका आधारमा मंसिर २७ गते विद्युत् खपत २ करोड ७२ लाख युनिट थियो । यो खपत गत वर्षको सोही दिनको २ करोड ११ लाखको तुलनामा ६१ लाख युनिट बढी हो । ऊर्जाका आधारमा विद्युत् खपत गत वर्षको तुलनामा २८.६५ प्रतिशत बढी हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत वर्षको तुलनामा यस वर्ष ३० प्रतिशतको हाराहारीमा उच्च माग बढ्नु ठूलो उपलब्धि भएको बताए ।