अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाले पहिलो पटक बिभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी माग गर्दै २०७८ साउन ४ गते सुचना निकाल्यो ।
नगरपालिकाले ०७८ साल पौष मसान्त सम्म काम गर्ने अबधि राखेर बिभिन्न ९ पदका लागि ३५ जना कर्मचारी माग गरेको थियो । त्यसपछि इच्छुक र योग्यता पुगेकाहरुले धमाधम बिभिन्न पदमा आवेदन दिए ।
१५ दिन भित्र योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुलाई कार्यालयको निर्धारित फाराम भरेर दरखास्त आह्वान दिन भनिएकोमा त्यो अबधिमा साचे भन्दा बढीले आवेदन दिए । साउन १४ गते देखी २८ गते सम्ममा ३५ पदका लागि १३ सय ६९ जनाको आवेदन परेको थियो ।
आवेदन दिने म्याद सकिएपछि सुरुमा संक्षिप्त सुची सर्टलिष्टको नाम सार्वजनिक गरिने र त्यसपछि प्रयोगात्मक तथा अन्र्तवार्ता हुने नगरपालिकाले भनेको थियो । आवेदन दिएकाहरु सर्टलिष्टको नाम कहिले आउँछ भन्ने प्रतिक्षामै बसेको लामो समय सम्म कर्मचारी भर्ना प्रकृया भने अलपत्र परेको छ ।
नगरपालिकाले नगरभित्रका बिभिन्न स्वास्थ्य चौकी र शहरी स्वास्थ क्लिनिकका लागि आवश्यक परेका स्वास्थ्यकर्मीहरु माग गरेपनि अहिले सम्म कर्मचारी छनौट प्रकृया अलपत्र परेको हो ।
काम गर्ने अबधि सकिनै लाग्दा पनि नगरपालिकाले कर्मचारी छनौट गर्न सकेको छैन । नगरपालिकाले ठूलो संख्यामा कर्मचारी मागेको भन्दै निकै उत्साहका साथ दरखास्त फाराम भरेकाहरु अहिले भने निराश बनेका छन् ।
नगरपालिकाले कर्मचारी भर्नाका नाममा पैसा मात्रै असुल्न खोजेको दरखास्त फाराम भरेकाहरुले आरोप लगाएका छन् । यस बिषयमा नगरपालिकामा बुझ्दा तत्कालिन प्रमुख प्रशासकिय अधिकृत देवराज जोशीको बिचमै सरुवा भएका कारणले ढिलाई भएको बताइएको छ ।
कर्मचारी भर्ना छनौटको काम प्रशासनिक तर्फको भएकाले बिचमै प्रमुख प्रशासकिय अधिकृतको सरुवा भएका कारण कर्मचारी भर्ना प्रकृया रोकिएको गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले जानकारी दिए ।
'उम्मेदवारको सर्ट लिष्ट निकाल्ने गरी आवेदकहरुको योग्यता र मुल्याङ्कन गर्ने काम भैरहेको थियो त्यसैको बिचमा हाकिमको सरुवा भयो , अहिले नयाँ हाकिम आइसक्नुभाछ अबको केही दिनमा यो काम अगाडी बढ्ने छ - उनले भने ।
केही दिन पहिले मात्रै सरुवा भएर आएका नयाँ प्रमुख प्रशासकिय अधिकृत खेमराज बिष्ट पनि परीक्षा दिन काठमाण्डौमा रहेको र अब उहाँ आउने बित्तिकै यो काम अगाडी बढ्ने उनको भनाई रहेको छ ।
नगरपालिकाले फार्मेसी सहायक , रिसेप्सनलिष्ट , ल्याब असिस्टेण्ट , अहेब , अनमी , सहायक कम्युटर अपरेटर , भ्याकु लोडर सह चालक , कार्यालय सहयोगी र स्वीपर माग गरेको छ ।
नगरपालिकाले मागेको कर्मचारीहरुमा सबै भन्दा बढी सहायक कम्युटर अपरेटरका लागि आवेदन परेको छ । नगरपालिकाले ७ जना सहायक कम्युटर अपरेटर माग गरेकोमा ३ सय ९८ जनाले आवेदन फाराम भरेका छन् ।
त्यसपछि कार्यालय सहयोगीमा ५ जना माग गर्दा ३ सय १४ जनाले आवेदन दिएको प्रशासनले जनाएको छ ।
यस्तै एक जना फार्मेसी सहायक माग गरेकोमा १५ जना , एक जना रिसेप्सनलिष्ट माग गरको ८५ जना , ५ जना ल्याब असिस्टेण्टका माग गरेकोमा १ सय ६८ जना , ५ जना अहेब माग गरेकोमा १ सय ९३ जना , ७ जना अनमी माग गरेकोमा १ सय ५४ जनाको आवेदन परेको छ ।
यस्तै १ जना भ्याकु लोडर सह चालक मागेकोमा १३ जना र ३ जना स्वीपर माग गरेकोमा २९ जनाले आवेदन फाराम भरेका छन् ।