अत्तरिया - कैलालीको अत्तरियामा हिजोवाट सुरु भएको तेस्रो संस्करणको सुदूरपश्चिम राजधानी कप फुटबल प्रतियोगिता अन्र्तगत आज एउटा खेल सम्पन्न भएको छ । पहिलो पटक महिला तथा पुरुष दुवै तर्फका खेलहरु भैरहेकोमा आज पुरुष तर्फको एउटा खेल सम्पन्न भएको हो ।
आजको खेल माउण्ट एभरेष्ट युवा क्लब अत्तरिया र फारबेष्ट पशुपति युवा क्बल धनगढीका बिच भएको थियो । निकै रोमाञ्चन प्रतिस्पर्धात्म खेलमा माउण्ट एभरेष्ट युवा क्लब अत्तरियालाई पराजित गर्दै फारबेष्ट पशुपति युवा क्बल विजयी भएको छ ।
फारबेष्ट पशुपति युवा क्बल धनगढी १–० गोलका साथ बिजयी भएको हो । खेलको पहिलो हाफ बराबरीमा टुङ्गिएको थियो । दोस्रो हाफ सुरु भएको केही बेरमै फारबेष्ट पशुपति युवा क्बलका तर्फवाट जर्सी नं ८ का खेलाडी कुशल देउवाले एक गोल गरेका थिए । उनले गरेको त्यो गोल नै जितका लागि निर्णायक बन्न पुग्यो ।
एक मात्र निर्णायक गोल गरेका देउवा नै खेलको म्यान अफ द म्याच बने र उनले नगद रु ४ हजार सहित ट्रफि प्राप्त गरेका छन् । उनलाई म्यान अफ द म्याचको पुरस्कार गोदावरी नगरपालिका वडा नं ३ का वडा अध्यक्ष मोहन खत्रीले हस्तान्तरण गरेका थिए ।
नकाउट चरणका आधारमा भैरहेको उक्त प्रतियोगितामा पुरुष तर्फ ८ टिम र महिला तर्फ ६ टिम सहभागी रहेको छन् ।
प्रतियोगितामा पुरुष तर्फ बिजेता हुने टिमले ५ लाख र उप बिजेताले २ लाख ५० हजार नगद सहित ट्रफि र मेडल प्राप्त गर्नेछन् भने महिला तर्फका बिजेता टिमले १ लाख ५० हजार र उप बिजेता हुने टिमले ७५ हजार रुपैया नगद सहित ट्रफि र मेडल प्राप्त गर्ने छन् ।
यस्तै दुवै तर्फ बिभिन्न बिधामा उत्कृष्ट हुने खेलाडीहरुलाई पनि नगद र ट्रफि प्रदान गरिने छ । खेलहरु गोदावरी नगरपालिका वडा नं ८ मा रहेको शिवशक्ति खेल मैदान स्याउलेमा भैरहेका छन् ।