अत्तरिया - विक्रम सम्बत २०७२ साल भदौ ७ गते आजकै दिन कैलालीको टीकापुरमा एसएसपी लक्ष्मण न्यौपाने सहित ८ प्रहरी र एक बालकको हत्या भएको आज ४ बर्ष पुरा भएको छ । संविधान प्रति असन्तुष्टि जनाउदै थरुहट थारुवान संयुक्त संर्घर्ष समितीले गरेको आन्दोलनका क्रममा एसएसपी न्यौपाने सहित ९ जनाको मृत्यु भएको थियो ।
संविधान निर्माणको बेला २०७२ साल भदौं ७ गते थरुहट/थारुवान आन्दोलनको क्रममा टीकापुरमा हिंसात्मक झडप हुँदा आठ सुरक्षाकर्मी र एक बालक सहित नौ जनाको ज्यान गएको थियो ।
सामाजिक सद्भावका लागि राष्ट्रिय सम्मेलन
कैलालीको टीकापुरमा सामाजिक सद्भाव कायम गर्नका लागि आजदेखि तीन दिने थरुहट/थारुवान राष्ट्रिय सम्मेलन सुरु भएको छ । २०७२ को टीकापुर घटनापछि बिग्रिएको दुई समुदायबीचको सामाजिक सम्बन्ध कायम गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको हो ।
सामाजिक सद्भाव प्रबद्र्धन गर्नका लागि आयोजना गरिएको थरुहट/थारुवान सम्मेलनले दुई समुदायबीचको दूरी घटाउनका लागि ठूलो सहयोग पुग्ने आयोजकले दाबि गरेको छ । ४ बर्ष अघि भएको घटनाले थारु समुदाय र पहाडी समुदायबीचको दुरी बढेको भन्दै सम्मेलन आयोजना गरिएको हो ।
३ दिन सम्म चल्ने सम्मेलनको आज टिकापुरको खुलामञ्चमा उद्घाटन गरी सम्मेलनको दोस्रो र तेस्रो दिन सामाजिक सद्भाव र थारु समुदायको मुद्दाको सवालमा गहन छलफल गरेर टीकापुर घोषणापत्र जारी गर्ने कार्यक्रम रहेको छ ।
टिकापुर घटनाको मुख्य आरोपी जेलमा
जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासले २०७५ साल फागुन २२ गते सुनाएको फैसला अनुसार अहिले घटनाका मुख्य योजनाकार रेशम चौधरी कारागारमा जन्मकैदको सजाय भोगिरहेका छन । थरुहट / थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा भएको टीकापुर घटना मुद्दाको कैलाली जिल्ला अदालतले रेशम चौधरी दोशि ठहर गरी रेशम चौधरी सहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।
घटनाको मुख्य योजनाकार रहेको अभियोग लागेकै अवस्थामा रेशम चौधरी कैलाली निर्वाचन क्षेत्र नम्वर १ बाट प्रतिनिधि सभामा विजयी हुँदै सासंदको सपथ समेत खाईसकेका थिए । फरार रहेकै अवस्थामा राजपाबाट कैलाली १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार उनी भारी मतान्तरले विजयी भएका थिए ।
कतियले यो घटना राजनितीक घटना भएको भन्दै चौधरीलाई दिईएको जन्मकैदको सजायको बिरोध समेत गरेका थिए । राजनितीक घटना भएकाले चौधरीलाई सजाय हुन नहुने उनीहरुको तर्क छ ।