काठमाण्डौ - नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।
१३ पदाधिकारी र १ सय १९ सदस्यसहित १ सय ३२ पदका लागि मतदान हुन लागेको हो । केन्द्रीय कार्य समितिमा दुई जना सदस्य भने निर्विरोध निर्वाचित भइसकेका छन् । बिहान ८ बजे नै मतदान सुरु हुने भनिए पनि सयममा मतदान हुन सकेन ।
मतदाता भने लाइन लागिसकेका छन् । मतदान साँझ ५ बजेसम्म चल्ने निर्वाचन समितिले जनाएको छ । भृकुटीमण्डप, राष्ट्रिय सभा गृह र नेपाल पुलिस क्लबमा रहेका मतदान केन्द्रमा झण्डै एक हजार बुथबाट ४ हजार ७ सयभन्दा बढी मतदाताले २९ प्रकारका मतपत्रमार्फत मतदान गर्नेछन् । एक जना मतदातालाई मतदान गर्न झण्डै १ घण्टा समय लाग्ने अनुमान गरिएको छ ।
सभापतिमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा शेखर कोइराला र कल्याणकुमार गुरुङको उम्मेदवारी परेको छ । यसैगरी दुई जना उपसभापतिका लागि विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, महेश आचार्य, सुजाता कोइराला, डा चन्द्र भण्डारी, धनराज गुरुङ र दिव्यश्वरी शाह गरी सात जनाको उम्मेदवारी परेको छ।
दुई महामन्त्री पदका लागि डा प्रकाशशरण महत, डा मीनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा, गगनकुमार थापा, प्रदीप पौडेल र डा। राजाराम कार्कीसहित ६ जनाको उम्मेदवारी परेको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ संघीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट महाधिवेशनका लागि ४ हजार ७ सय ४३ जना प्रतिनिधि चयन भएका छन् ।
कांग्रेसले शुक्रबार विशेष कार्यक्रम गरी काठमाडौंमा १४ औँ महाधिवेशन उद्घाटन गरेको थियो ।