अत्तरिया - नेपाली कांग्रेसको १४ औँ महादिवेशन अन्र्तगत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । अहिले बिहान ८ बजेदेखि नै मतदान सुरु भैरहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
कांग्रेसको नयाँ नेतृत्वका लागि पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भैसकेको छ । निर्वाचन समितिले राष्ट्रिय सभागृहमा उम्मेदवारको अन्तिम नामावली टाँसेको हो ।
जसमा सभापतिका पदका लागि ५ जना बीच प्रतिष्पर्धा हुने भएको छ । निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार शेर बहादुर देउवा , प्रकाशमान सिंह, विमलेन्द्र निधि, डाक्टर शेखरप्रसाद कोइराला र कल्याणकुमार गुरूङले सभापतिमा प्रतिस्पर्धा गर्ने भएका हुन् । यस्तै २ जना उपसभापतिमा सात जनाको उम्मेदवारी परेको छ ।
डाक्टर चन्द्र भण्डारी, दिव्यश्वरी शाह, धनराज गुरूङ, पूर्णबहादुर खड्का, महेश आचार्य, विजयकुमार गच्छदार र सुजाता कोइरालाले कांग्रेस उपसभापतिमा दाबी गरेका छन् । २ जना निर्वाचित महामन्त्रीका लागि ६ जनाको उम्मेदवारी परेको छ।
गगन थापा, डाक्टर प्रकाशशरण महत, प्रदीप पौडेल, डाक्टर मिनेन्द्र रिजाल, डाक्टर राजाराम कार्की र विश्वप्रकाश शर्मा महामन्त्रीका लागि प्रतिष्पर्धामा उत्रिएका छन् । कांग्रेसका ४७ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिले मत खसालीसकेपछि मत गणना सुरू हुनेछ ।
सुरूमा सभापतिको मतगणना हुनेछ। सभापतिमा दुईभन्दा बढी उम्मदेवार हुँदा कुनै उम्मेदवारले ५१ प्रतिशत मत नल्याए सबै भन्दा बढी मत ल्याउने दुई उम्मदवारबीच फेरि चुनाव हुने कांग्रेस विधानको व्यवस्था छ । महाधिवेशनमा ४ हजार ७ सय ४३ जनाले मतदान गर्नेछन् ।