काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा एक सभापति र सहमहामन्त्रीसहित ६० जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
शनिबार सम्पन्न मनोनयन दर्तामा १३४ पदका लागि ५४८ जनाले उम्मेदवारी दिएका थिए । कार्यतालिका अनुसार आइतबार बिहान साढे ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको थियो । तर केन्द्रीय निर्वाचन समितिले थप डेढ घण्टा समय थपेर साढे १२ बजेसम्म उम्मेदवारी फिर्ताको समय निर्धारण गरेको थियो।
सो अवधिमा एक सभापतिका उम्मेदवार युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् भने सहमहामन्त्री (थारु कोटा) तर्फका उम्मेदवार सुरेन्द्र चौधरीले पनि उम्मेदवारी फिर्ता लिएका छन्।
यस्तै अरु ५८ जना केन्द्रीय सदस्यका उम्मेदवारले पनि उम्मेदवारी फिर्ता लिएका छन्। सभापतिका उम्मेदवार न्यौपानेले शेखर कोइराला र सुरेन्द्रले उमाकान्त चौधरीलाई सघाउने बताएका छन्।
अब सभापतिमा शेरबहादुर देउवा, प्रकाशमान सिंह, डा शेखर कोइराला, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङबीच प्रतिस्पर्धा हुनेछ।
दुई उपसभापति पदका लागि सात जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा महेश आचार्य, सुजाता कोइराला, डा चन्द्र भण्डारी, धनराज गुरुङ, दिव्यश्वरी शाह, पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार रहेका छन् ।
त्यस्तै २ महामन्त्री पदका लागि डा मीनेन्द्र रिजाल, डा प्रकाशशरण महत, विश्वप्रकाश शर्मा, गगनकुमार थापा, प्रदीप पौडेल र डा राजाराम कार्कीको उम्मेदवारी परेको छ।
सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा, बद्रीप्रसाद पाण्डे, फर्मुल्लाह मनसुर, शेख वकिल, देवराज चालिसे, किशोरसिंह राठौर, रञ्जीत कर्ण, जीवन परियार, रामकृष्ण यादव, जीवनबहादुर शाही, विकास लामा, कमला पन्त, तेजुलाल चौधरी, भीष्मराज आङदाङवे, चेतनाराज बजाल, उमाकान्त चौधरी, गङ्गा सुनार, महेन्द्र यादव र डिना उपाध्यायले उम्मेदवारी गरेको निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावलि प्रकाशन गरेपछि भोलि ८ बजेबाट निर्वाचन हुनेछ।