अत्तरिया - कैलालीको अत्तरियामा अपाङ्गता भएका आदिवासी महिलाहरुसंगको छलफल तथा अन्तकृया कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय आदिवासी जनजाती अपाङ्ग महिला संघ नेपालको आयोजना, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेश र एकता समाज कैलालीको समन्वयमा सुदूरपश्चिम प्रदेशभरि रहेका अपाङ्गता भएका आदिवासी महिलाहरुसंग २ दिने सम्म संचालन भएको छलफल तथा अन्तकृया कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धिको स्थानिय तहमा भएको कार्यान्वयनको अवस्थाका बारेमा छलफल भएको राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पूर्व केन्द्रिय सदस्य मान बहादुर साउँदले जानकारी दिए ।
उनले सुदूरपश्चिम प्रदेश भरि शारिरिक रुपमा अपाङ्गता भएका ब्यक्तिहरु र त्यसमा पनि आदिवासी महिलाहरुको अबस्थाका बारेमा २ दिन सम्म विस्तृत रुपमा छलफल गरिएको बताए । उक्त कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाती अपाङ्ग महिला संघ नेपालकी अध्यक्ष प्रतिमा गुरुङले सहभागि महिलाहरुलाई अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धिका बिषयमा जानकारी गराएकी थिइन् ।
उनले सो महासन्धि सबैका स्थानिय तहमा कत्तिको कार्यान्वयन भएको छ भन्ने बिषयमा जानकरी लिएकी थिइन् । कार्यक्रमको समापनमा बोल्दै गुरुङले सबै नागरिकहरु बाच्न पाउने अधिकार समान भएकाले अपाङ्गता भएका आदिवासी जनजाती महिलाहरुले पनि समान अधिकार पाउनुपर्छ भनेर कार्यक्रमको आयोजना गरिएको बताइन् ।
उनले पहिलेको तुलनामा अहिले अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा धेरै परिवर्तन आएपनि सोचे अनुरुपको प्रगति भने हुन नसकेको बताइन् । अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धिको स्थानिय तहहरुले पनि कार्यनव्यन गरेर सबैलाई समान रुपमा संगैसंगै हिडाउनुपर्ने बताइन् ।
समापन कार्यक्रममा प्रमुख अतिथी रहेकी गोदावरी नगरपालिकाकी उप प्रमुख रत्ना कडायतले अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा नगरपालिले जति सक्दो सेवा सुबिधाहरु प्रदान गर्नका निमित्त कामहरु गर्दै आएको बताइन् ।
उनले परिचय पत्र बितरण देखी आवश्यक परेको बेला समय समयमा सहायक सामाग्रीहरु पनि वितरण गर्दै आएको बताइन् ।
'हामीले नगर भित्र रहेको सबै अपाङ्गता भएका व्यक्तिहरुलाई एउटा कार्यबिधि नै बनाएर धमाधम परिचय पत्र वितरण गरिरहेका छौ' उनले भनिन् - 'यति मात्रै होइन हामीले त उनीहरुलाई रोजगार बनाउन पनि बिभिन्न शिपमुलक कार्यक्रम आयोजना गर्ने गरेका छौ ।'
उनले अन्य स्थानिय तहको तुलनामा गोदावरीले अपाङ्गता भएका ब्यक्तिहरुको क्षेत्रमा धेरै काम गरेको दाबी गरिन् । उक्त अन्तकृया तथा छलफल कार्यक्रममा कैलाली र कञ्चनपुरको दुई जिल्लावाट ४८ जना अपाङ्गता भएका आदिवासी जनजाती महिलाहरुको उपस्थिती रहेको थियो ।