काठमाण्डौ - १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई पनि कोरोना बिरुद्धको खोप लगाइने भएको छ । आउँदो पुस ४ गतेदेखि ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका सबै बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने भएको हो ।
विद्यालयबाटै खोप लगाउने गरी तयारी भइरहेको विभागको खोप शाखा प्रमुख सागर दाहालले जानकारी दिए । यसअघि आएका समेत गरी पर्सि आइतवारसम्म मोडर्नाको ३६ लाख डोज खोप जम्मा हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
खोप आएलगत्तै सबै जिल्लामा पठाइने र पुस ४ गतेदेखि ५७ जिल्लाका बालबालिकालाई खोप लगाउन सुरु हुने खोप शाखा प्रमुख दाहालले बताए । उनका अनुसार यसअघि फाइजरको खोप दिइएका २० जिल्लामा भने तत्काल मोडर्ना खोप दिइने छैन ।
यसअघि काठमाण्डौ, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, चितवन, गोरखा, काभ्रे, कास्की, बाग्लुङ, रुपन्देही, दाङ, बाँके, सुर्खेत, कैलाली र डडेलधुरामा दीर्घ रोगीलाई लगाएर बाँकी रहेको खोप दिइएको थियो ।