अछाम-नेकपा (एमाले) का निबर्तमान उपाध्यक्ष भीम रावलले गृहजिल्ला अछाम पुगेका छन । उनले आफ्ना कार्यकर्ताहरुलाई निराश नहुन आग्रह गरेका छन् । चितवन महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएका रावलले पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका हुन् ।
‘तपाईंहरू कोही पनि निराश नहुनुहोला,’ श्रीमतीसहित पुगेका रावले भने, ‘राजनीतिमा अनेक घुम्तीहरू आउँछन् । उच्च मनोवल राख्नुहोस् । समाज र देशका लागि हामीले यी पाइला चालेका हौं भनेर अठोटका साथ अघि बढ्नुहोस् । मेरो साथ तपाईंहरूलाई छ।’
रावलले आफूले अध्यक्ष पदमा प्रतिष्पर्धा गरेको र हारेको बताउँदै त्यसमा मन खुम्च्याउनुपर्ने कारण नरहेको बताए। उनले भने, ‘मैले अध्यक्ष पदमा प्रतिष्पर्धा गरेको हो । त्यसमा मन खुम्च्याउनुपर्ने कुनै कारण छैन ।’
चुनावमा अध्यक्ष केपी शर्मा ओलीले जिते पनि नैतिकरूपमा भने आफूले जितेको उनको भनाइ छ । ‘मैले नैतिकरुपमा हारेँ भन्ने मेरो मनमा छैन,’ रावलले भने, ‘मैले झण्डा बिसाएर कसैको लट्ठी समाएर हिँडेको छैन ।’ उनले टिका लगाएर आफु नेता नबन्ने समेत बताए । अध्यक्ष केपी शर्मा ओलीले पार्टीको उपाध्यक्ष र केन्द्रीय सदस्य प्रस्ताव गर्दा पनि अस्वीकार गरेको रावलको 'भनाई छ ।
भीम रावल अध्यक्ष पदमा पराजित भएर कहीँ जाला भन्ने लागेको होला। तर म जहाँ छु त्यहीँ छु', उनले भने, 'अब केही समयपछि हाम्रो देशमा स्थानीय र आमनिर्वाचन हुनेछ। अब हामी त्यता लाग्नुपर्नेछ। हामी जहाँ छौँ त्यहाँ अटल छौँ।'
उनले प्रतिस्पर्धा गरेर यो महाधिवेशनमा जबजको रक्षा गर्न सफल भएको पनि बताए। '