धनगढी - सुदूरपश्चिममा काँग्रेसको प्रदेश कार्यसमिति चयनका लागि मतदान जारी रहेको छ। शनिबार बिहान निर्माण व्यवसायी संघ कैलालीको हलमा मतदान सुरु भएको हो। प्रदेश कार्यसमिति चयनका लागि संस्थापन र इतर पक्ष प्यानलसहित चुनावी मैदानमा होमिएका छन्। सभापतिमा संस्थापन समूहबाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायरले उम्मेदवारी दिएका छन् भने इतर पक्षबाट कैलालीका पूर्वसभापति नारायणदत्त मिश्रको उम्मेदवारी परेको छ।
यस्तै संस्थापन पक्षबाटै प्रदेश उपसभापतिमा कैलालीका जनक चौधरी र बैतडीका लोकराज अवस्थी, महामन्त्रीमा कैलालीका नरनारायण शाह र अछामका मेघराज खड्का तथा सहमहामन्त्रीमा कञ्चनपुरका चिन्तामणी भट्ट, गोपाल भट्ट र अछामका अम्बिका चलाउनेले उम्मेदवारी दिएका छन्।
यस्तै संस्थापन इतर पक्षबाट मिश्रले सभापतिमा उम्मेदवारी दिएका छन् भने उपसभापतिमा कञ्चनपुरका गोपाल गुरुङ र बाजुराका मानबहादुर रावल, महामन्त्रीमा बझाङका प्रताप गुर्दामी र अछामका रामबहादुर शाही, सहमहामन्त्रीमा दार्चुलाका पदमराज पन्त र बैतडीका नरेन्द्र भट्ट र खिना भण्डारीले उम्मेदवार दिएका छन्।
यस्तै काँग्रेस सुदूरपश्चिमको उपसभापतिमा हिम रावलको पनि उम्मेदवारी छ। तर उनले उम्मेदवारी फिर्ता लिएको र आफ्नो समर्थन वलायर समूहलाई रहेको भन्दै विज्ञप्ती जारी गरेका छन्। यस्तै सहमहामन्त्रीमा लक्ष्मण शाही, हर्क स्वार र डम्मरी महराको पनि उम्मेदवारी परेको छ।
मतदान स्थलमा काँग्रेस नेता कार्यकर्ताको बाक्लो उपस्थिती रहेको छ । आ -आफ्नो पक्षका नेताहरुको प्रचारमा कार्यकर्ताहरु पनि बिभाजित भएका छन ।
निर्वाचनबाट एक सभापति, दुई जना उप-सभापति, एक महिलासहित तीन जना महामन्त्री चयन हुने छन् । यसैगरी सदस्य खुलातर्फ तीन महिलासहित ११ जना, भूगोलतर्फ प्रत्येक जिल्लाबाट एक महिलासहित १८ जना, खस आर्य कोटाबाट ६ महिला ६ पुरुष गरी १२ जना, आदिवासी कोटाबाट एक जना, दलित कोटाबाट एक महिलासहित तीन जना, मधेसी कोटाबाट एक जना, थारु कोटाबाट एक महिला र दुई खुला गरी तीन जना, मुस्लिमबाट एक जना, अपांङ्गता भएका एक जनासहित ५९ सदस्यीय प्रदेश समिति चयन हुनेछन् ।