अत्तरिया - आज भाद्र कृष्ण अष्टमी अर्थात कृष्ण जन्माष्टमी पर्व सुदुरपश्चिम सहित देशभरका हिन्दु धर्मालम्बीहरूले भगवान् श्री कृष्णको पूजाआजा गरी मनाउँदै छन् । भगवान् श्रीकृष्णको जन्म उत्सबको सम्झनामा हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन श्री कृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ ।
कर्मयोग र भक्ति योगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भन्ने गरिन्छ । दानव र आसूरी प्रवृतिको नास गरी मानव जातिको रक्षा गर्न विष्णुको आठौं अवतारको रुपमा मथुराको बन्दीगृहमा कृष्णको जन्म भएको धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ । आज बिहानै देखी अत्तरिया , धनगढी , लगाएत सुदुरपश्चिम सहित देशैभरका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पुजा आराधनाका लागि हिन्दु धर्मालम्बीहरूले भिड लाग्न थालेको छ । कृष्ण मन्दिरहरूमा पुगेका हिन्दु धर्मालम्बीहरूले आज दिनभर भगवान् श्रीकृष्णको पूजाआराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै रातभर जाग्राम समेत बस्ने गर्दछन् ।
आजको दिन धार्मिक प्रवचन, पूजापाठ तथा श्रीकृष्ण्को रथयात्रा गर्ने र झुला झुलाउने पनि गरिन्छ । दिनभर भक्तहरु उपवास बसी मध्यरातमा कृष्णको प्रतिमालाई पूजा गरी भजन कृतन गाउने गर्दछन् । कृष्ण भगवानको पूजा विशेषगरी कुमारी केटी तथा महिलाहरुले गर्ने गर्दछन् । ज्ञान, भक्ति र कर्मयोगका प्रणेता कृष्णको पूजाआजा गरी यो पर्व मनाउने गरिन्छ । धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार कृष्णले पापका पर्याय बनेका कंशको बध गरी हजुरबुबा उग्रसेन, मातापिता देवकी एवं वासुदेवलाई कारागारमुक्त गराएका थिए ।
बाल्यकालदेखि नै विचित्र लीला देखाएका कृष्णले गोपिनी र राधासँग गरेको प्रेम प्रसंगका कारण यो महिना प्रेमोत्सव अर्थात् झुलनोत्सवका रुपमा पनि मनाउने गरिन्छ । अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले विष्णुले मानव अवतारका रुपमा श्रीकृष्ण भई धर्तीमा अवतरण गरेको मानिन्छ ।
कृष्णले सदैब सत्यका पक्षमा रही मानव समुदायलाई सत्कर्मका लागि अभिपे्ररित गरेका थिए । यता कृष्ण जन्माष्टमीको अबसरमा पारेर अत्तरियामा रहेको ब्रहमकुमारी ईश्वरीय विश्व बिधालयको आयोजनामा चैतन्य राधाकृष्ण सु सर्जन झाकिँ कार्यक्रम सम्पन्न भएकोे छ ।
ब्रहमकुमारी ईश्वरीय विश्व बिधालय अत्तरियाकी प्रमुख संचालिका रविना दिदिको सभापतित्वमा आयोजित कार्यक्रममा सुदुरपश्चिम प्रदेश सांसद चुनकुमारी चौधरी प्रमुख अतिथी रहनुभएको थियो । कार्यक्रममा ब्रहमकुमारी ईश्वरीय विश्व बिधालय अत्तरियाकी प्रमुख संचालिका रविना दिदिले भगवान श्री कृष्णको लिला बारे सहभागीहरुलाई जानकारी गराएकी थिइन् ।
यस्तै कार्यक्रममा भगवान श्री कृष्णको पुजा आराधना गरिनुका साथै भगवान श्री कृष्णका गितहरु स साना बालबालिकाहरुले आफ्नो नृत्य प्रस्तुत गरेका थिए ।
यस्तै गोदावरी नगरपालिका वडा नं २ मा रहेको राधाकृष्ण मन्दिरमा पनि भगवान श्री कृष्णको पुजा आराधनाका लागि आज बिहानैदेखी ब्रतालुहरु पुगेका छन् । सो मन्दिरमा बिहानैदैखी पुजा गरिने र साझँपख भजन कृतकको आयोजना गरिएको राधाकृष्ण मन्दिर ब्यबस्थापन समितिले जनाएको छ । सो मन्दिर ब्यबस्थापन समितिले भोली अत्तरिया बजारमा कृष्ण रथ यात्रा निकाल्ने तयारी पनि गरेको छ ।