अत्तरिया - सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको छुट्टै रौनक छाएको छ । सुदुरपश्चिमको छुट्टै मौलिक संस्कृति झल्किने गौरा पर्वको आज मुख्य दिन सुदुरपश्चिममा हर्षोल्लासका साथ मनाइँदै छ । आज गौरा देवीको पूजाआराधना गौरा पर्व मनाइँदै छ । सुदुरपश्चिम प्रदेशको कैलाली सहित कञ्चनपुर डोटी ,डडेल्धुरा , दार्चुला, बैतडी, बझाङ, अछाम, तथा भारत उत्तराखण्डको कुमाउ, गढवालमा पनि आआफ्नै धार्मिक परम्परा अनुसार गौरा पर्व मनाउने चलन छ ।
काठमाडौंमा बसोबास गर्ने सुदूरपश्चिमेलीले पनि गौरा पर्व मनाउँदै आएका छन् । काम विशेषले घरबाट टाढा गएकाहरु पनि गौरा पर्व मनाउन गाउँमा फर्किएका छन् । भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने सुदूरपश्चिमेलीहरुको महान पर्व गौरापर्वको पहिलो दिन महिलाहरुले घरघरमा तामाको भाँडामा बिरुडा ९पाँच प्रकारका अन्न० भिजाएर गौरा पर्वको विधिवत रुपमा सुरुवात गर्दछन् ।
भदौ शुक्ल पञ्चमीका दिन महिलाहरुले व्रत बसी केराउ, गहत, गहुँ, मास र गुरौस मिसाएर तामाको भाँडामा विरुडा भिजाएपछि गौरा पर्वको थालनी हुन्छ । भदौ शुक्ल पञ्चमीका दिन बिरुडा भिजाउने चलन रहिआएकाले सुदूरपश्चिममा यस पञ्चमीलाई बिरुडा पञ्चमीका नामले पनि चिन्ने गरिन्छ । भदौ शुक्ल पञ्चमीका दिन भिजाइएको बिरुडा भोलिपल्ट षष्ठीका दिन नजिकको धारा, तलाउ वा पोखरीमा लगेर धुने चलन छ ।
त्यस्तै सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठमन्दिरमा भित्र्याएर पूजा अर्चना गरी विवाहित महिलाहरुले दुवधागो चढाउने गर्दछन् । अठवली अर्थात् अष्टमीको दिन व्रत बसेर गौरा पर्व मनाउने स्थल गौरा खलामा पार्वती र शिवको पूजापाठ गर्ने चलन छ । गौरा पर्वको मुख्य आकर्षणको रुपमा रहेको देउडामा पौराणिक कथा, देवी देवताका गाथा गाउने, चैतली, धुमरी, ढुस्को लगायतका भाकामा देउडा खेल खेल्ने चलन छ । देउडा गीतका माध्यमबाट एक आपसमा सुख दुःख बाँड्नुका साथै सामाजिक सदभाव कायम पनि गरिन्छ ।
गौरा पर्व भदौ शुक्ल पञ्चमीका दिन आरम्भ हुने भएपनि गौरा देवीको विसर्जन भने आआफ्नै चलन अनुसार गर्ने गरिन्छ । यता कैलालीको अत्तरियामा रहेको शिव मन्दिरमा पनि आज देखी गौरा मेला लाग्ने गर्दछन् ।
गोदावरी नगरपालिका सहित अन्य आसपासका स्थानियहरु साझतिर शिव मन्दिरमा जम्मा भई गोलबद्ध भएर देउडा खेल्ने र आफ्ना दुख सुखका कुराहरु एक आपसमा साटासाट गर्ने गर्दछन् ।