अत्तरिया - कैलालीको घोडाघोडी रामसार क्षेत्रको प्रचार प्रसारका लागि चरा फोटोग्राफी प्रतियोगिता सुरु भएको छ । वृहत् घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डको आयोजनामा बिहीबारबाट दुई दिने प्रतियोगिता सुरु भएको हो ।
बिहीबार र शुक्रवार नेपालका विभिन्न क्षेत्रबाट आएका फोटो पत्रकारहरूले यहाँ पाइने चराहरूको तस्बिर खिच्ने छन् । ती मध्येका तीन तस्बिरलाई पुरस्कृत गरिने वृहत् घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डका अध्यक्ष समेत रहेका घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसार चौधरीले जानकारी दिए ।
पहिलो पुरस्कार तीन हजार दोस्रोलाई बिस हजार र तेस्रोलाई दश हजार दिइने आयोजकले जनाएको छ । फोटोग्राफी प्रतियोगितामा सहभागी हुन विभिन्न क्षेत्रबाट ३२ जना फोटोग्राफरहरू यहाँ पुगिसकेका छन् । उनीहरूले खिचेको तस्बिर शुक्रवार बुझाउने र त्यसको एक साता भित्रै पुरस्कृत हुने तस्बिर घोषणा गरिने नगर प्रमुख चौधरीले बताए ।
घोडाघोडी नगरपालिकाले घोडाघोडी ताल क्षेत्रलाई चराको आरक्षको रूपमा विकास गर्ने तयारी अन्तिम चरणमा पुराएको जनाएको छ । यहाँ करिब ३६० प्रजातिका चराहरू पाइन्छ । चराको प्रचार प्रसारको लागि प्रतियोगिता आयोजना गरिएको चौधरीले बताए ।
‘नेपालमा चरको बसोबासको लागि सबै भन्दा उत्तम क्षेत्र घोडाघोडी हो ’नगरप्रमुख चौधरीले भने ‘हामीले घोडाघोडी क्षेत्रलाई चराको आरक्षको रूपमा विकास गर्न लागिपरेका छौँ ।’
नेपालमा १६७ प्रजातिका लोपोन्मुख चराहरू छन् ती मध्ये ५८ प्रजातिका चराहरू घोडाघोडी ताल क्षेत्रमा पाउँछ। नेपालमा विश्वमै दुर्लभ ४३ प्रजातिका चराहरू पाइन्छ ।
ती मध्ये १२ प्रजातिका चराहरू घोडाघोडी ताल क्षेत्रमा पाइन्छ । नेपालमा पाइने चराहरू मध्ये तीन प्रजातिका चराहरूले घोडाघोडी ताल क्षेत्रमा मात्रै प्रजनन गर्ने गरेको छ ।