धनगढी -नेपाली काँग्रेसले ६२ जिल्लामा पार्टीको नयाँ नेतृत्व चयन गरेको छ । प्रदेश एकका १४ जिल्ला र कर्णालीका १० जिल्लाका अधिवेशन सम्पन्न भएको छ । प्रदेश दुईमा भने नेतृत्व चयन गर्न ८ जिल्लामै बाँकी छ । प्रदेश दुईमा महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन हुनेछ ।
यस्तै बागमती प्रदेशमा चितवन, मकवानपुर र सिन्धुपाल्चोक जिल्ला अधिवेशन सम्पन्न भएको छैन । चितवनमा आज जिल्ला अधिवेशन गर्ने तालिका भएपनि निर्वाचन अधिकृतले राजीनामा दिएपछि अन्योलता सिर्जना भएको छ ।
मकवानपुर र सिन्धुपाल्चोकमा महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन हुने छ । गण्डकीमा प्रदेशमा पनि नवलपरासी पूर्वको जिल्ला अधिवेशन हुन बाँकी छ भने लुम्बिनी प्रदेशमा बाँकेमा पनि जिल्ला अधिवेशन सम्पन्न हुन सकेको छैन ।
नवलपरासी पूर्व र बाँकेमा पनि महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन हुनेछ ।सुदूरपश्चिम प्रदेशका कैलाली र अछाममा पनि जिल्ला अधिवेशन रोकिएको छ । कैलाली र अछाममा महाधिवेशनपछि जिल्ला अधिवेशन गर्ने तयारी छ । जिल्ला अधिवेशन सम्पन्न नभएका १५ जिल्लामा महाधिवेशन प्रतिनिधि चयन भइरहेको अवस्था छ ।
यता ६२ जिल्ला सभापति चयन हुँदा प्रदेश एक, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम सभापति शेरबहादुर देउवा पक्षको वर्चश्व देखिएको छ । लुम्बिनीमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको उपस्थिति बलियो छ । पौडेल पक्षको आधार क्षेत्र मानिएको प्रदेश १ र गण्डकी प्रदेश अन्तर्गतका जिल्ला सभापतिमा देउवा पक्षले जबरजस्त उपस्थिति जनाएको छ ।
कोइराला परिवारको गण मानिएको प्रदेश एक र पौडेलको गृह प्रदेश गण्डकीमा देउवा पक्ष हाबी भएको छ । प्रदेश एक र गण्डकीमा नेता कृष्णप्रसाद सिटौला पक्षले पनि जिल्ला नेतृत्व हात पारेको छ । समग्रमा देउवा पक्षले ३३, पौडेल पक्षले २६ र सिटौला पक्षले २ जिल्ला सभापति जितेको छ ।