अत्तरिया - आज बाट देशभर चिसो थप बढ्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको कारण तापक्रममा गिरावट आई आजबाट चिसो थप बढ्ने देखिएको हो ।
जसका कारण पर्वतारोहण, हवाई र यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाको अनुरोध छ ।
यो प्रणाली आउँदो शुक्रबारबाट क्रमशः सुदूरपश्चिम प्रदेशका क्षेत्रबाट मौसममा बिस्तारै कमजोर हुँदै जाने देखिन्छ ।
आउँदो आइतबार साँझबाट पुनः अर्को पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशमा पर्न सक्ने पनि सम्भावना देखिएको छ ।
आज देखि देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश , लुम्बिनी प्रदेश, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू भागहरूका धेरै स्थानहरूमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहनुको साथै उक्त प्रदेशहरूका पहाडी तथा तराइका केही भू भागहरूमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।
भोलि बिहीबार सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमतीका पहाडी भूभागमा हल्का देखि मध्यम वर्षाको आँकलन गरिएको छ ।
ती प्रदेशका उच्च पहाडी र हिमाली भू(भागमा भारी हिमपात सम्भावना छ ।पर्सी शुक्रबार देशभर बदली रहनेछ ।