अत्तरिया - कैलालीमा सवारी दुर्घटना बढ्दै गएको छ । सुदूरपश्चिमको तराईको जिल्ला रहेको कैलालीमा जाडोमा मौसम सुरु भएसंगै सवारी दुर्घटना बढ्दै गएको हो । यसमा पनि सबै भन्दा बढी पूर्वपश्चिम राजमार्ग ज्यानमारा बन्दै गएको छ ।
पछिल्लो केही दिन यता निरन्तर रुपमा भैरहेको सवारी दुर्घटनाले मानिसहरुले अकालमै ज्यान गुमाईरहेका छन् । जिल्लामा गएको ५ दिनको अबधिमा मात्रै सवारी दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको छ भने ३ जना गम्भिर घाईते भएका छन् ।
४ वटा सवारी दुर्घटना हुदाँ ३ पुरुष र १ महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार बिहानै कैलालीको गोदावरी नगरपालिका वडा नं ८ स्याउलेमा ट्रकको ठक्करबाट एक भरखरकै कलिला युवाको मृत्यु भएको छ ।
भैरहवाबाट अत्तरिया आउँदै गरेको ना ६ ख ५३६६ नम्बरको मालवाहक ट्रकले बिहान साढे ३ बजे तिर ठक्कर दिदा सोही ठाउँका १९ वर्षीय नरेश देउवाको मृत्यु भएको हो । ट्रक र ट्रकका चालकलाई ईलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।
ट्रकको ठक्करवाट युवकको मृत्यु भएपछि आक्राशित बनेका मृतकका आफन्त र स्थानियहरुले आज दिनभर करिब ८ घण्टा पूर्वपश्चिम राजमार्ग अबरुद्ध पारेका थिए । अहिले भने अबरुद्ध सडक सुचारु भैसकेको छ ।
मंसीर ९ गते पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्की बजारमा ना २ ख ९३७० नम्बरको ट्रकले ठक्कर दिदाँ टीकापुर नगरपालिका वडा नम्बर २ की ४० वर्षीया गोमा थापाको मृत्यु भएको थियो ।
यस्तै मंसीर ११ गते राति पश्चिमबाट पूर्वतर्फ गइरहेको सु प प्र ०१ ००८ प ५४७५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको लु १ ख ४६६६ नम्बरको ट्रकले ठक्कर दिदाँ मोटरसाइकल चालक बसन्तराज शर्माको मृत्यु भएको थियो भने मंसिर १२ गते राति कैलालीमा मोटरसाइकल र स्कुटि एक आपसमा ठोक्किँदा घोडाघोडी नगरपालिका वडा नम्बर १ का २० वर्षीय रुद्र बोहराको मृत्यु भएकोे छ । यस्तै सोही दुर्घटनामा परी ३ जना गम्भीर घाइते भएका छन ।