चितवन -नेकपा एमालेको दसौं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व छनौटका लागि आज राति मतदान हुँदैछ। मतदानबाट केन्द्रीय अध्यक्षसहित पदाधिकारी, केन्द्रीय सदस्य र विभिन्न आयोगमा नेतृत्व चयन हुनेछन् ।
वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका छन्।
अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले चुनाव भिडने छन ।उपाध्यक्षमा पनि चुनाव हुने भएको छ। उपाध्यक्षमा ओली समुह बाहिरबाट घनश्याम भुसालले उम्मेदवारी दिएका छन्।
सात जना सचिव पनि मतदानबाट टुंग्याउनु पर्ने भएको छ। ७ जना सचिवका लागि ९ जनाको उम्मेदवारी परेको छ। भीम आचार्य र टंक कार्कीले ओलीले प्रस्ताव गरेको नाममा असहमति जनाउँदै उम्मेदवारी दिएका हुन्।
केन्द्रीय सदस्यमा भूगोलअन्तर्गत प्रदेश १ खुलामा ६ जना चाहिनेमा ९ जनाले उम्मेदवारी दिएका छन्। बागमती प्रदेशका ६ जना खुला केन्द्रीय सदस्यका लागि ८ जनाले मनोनयन हालेका छन्।
कर्णाली प्रदेशमा खुलाबाट ६ जनाका लागि सात जनाले उम्मेदवारी दिएका छन्।
सुदूर प्रदेशबाट खुला सदस्य ६ जनाको ठाउँमा ९ जनाको उम्मेदवारी परेको छ। उक्त प्रदेशमा महिलातर्फ तीन जनाको कोटामा ६ जनाले उम्मेदवारी दिएका छन्।
सम्पर्क समन्वय समिति महिलातर्फ १ केन्द्रीय सदस्यका लागि २ जनाले उम्मेदवारी दिएका छन्।
आदिवासी जनजाति खुलातर्फ १७ जना केन्द्रीय सदस्यका लागि १९ जनाले उम्मेदवारी दिएका छन् भने आदिवासी महिला कोटामा ८ केन्द्रीय सदस्यका लागि ९ जनाले उम्मेदवारी दिएका छन्।
मधेसी खुलामा १३ जना केन्द्रीय सदस्यका लागि १५ जनाले उम्मेदवारी दिएका छन्।
दलित खुला कोटामा ८ केन्द्रीय सदस्य छुट्याइएको छ। यो कोटामा ११ जनाले उम्मेदवारी दिएका छन्।
थारू खुलामा ५ जना केन्द्रीय सदस्य बन्न ६ जनाले उम्मेदवारी दिएका छन् भने थारू महिला २ जनाका लागि ३ जनाले मनोनयन दिएका छन्।
मुस्लिम खुलातर्फ ४ जना केन्द्रीय सदस्यका लागि ५ जनाले उम्मेदवारी दिएका छन्।
खुला केन्द्रीय सदस्य ८४ जनाका लागि ८५ जनाले उम्मेदवारी दिएका भने खुला महिला ५३ जनाका लागि ५४ वटा उम्मेदवारी परेको छ।