कञ्चनपुर - नेपाल कम्युनिष्ट पार्टीमा ओवादी केन्द्रको राष्ट्रिय सम्मेलनअन्तर्गत कञ्चनपुरका नौ स्थानीय तहका ९२ वटा वडामध्ये ३६ वडामा नयाँ नेतृत्व चयन गरिएको छ।
शनिबारदेखि वडामा सुरु भएको सम्मेलनमा सहमतिका आधारमा नयाँ नेतृत्व चयन भएका हुन् । पार्टीका नेता टेकेन्द्रप्रसाद भट्टका अनुसार पुर्नर्वास नगरपालिकाका ७ र ८ बेलौरी नगरपालिका २ र ३ बेलडाँडी गाउँपालिका ४ र २ लालझाडी गाउँपालिका २ कृष्णपुर नगरपालिकाका २, ३, ४, ५, ६, ७, ८ र ९ मा वडा सम्मेलनबाट नयाँ नेतृत्व चयन भएका छन्।
यसैगरी शुक्लाफाँटा नगरपालिकामा वडा नं १, ४, ५, ८, १० र १२ बेदकोट नगरपालिकाको वडा नं २, ६ र १० भीमदत्त नगरपालिकाको वडा नं २, ३, ७, ८, ९, ११, १५ र १९ र दोधारा–चाँदनी नगरपालिकाको वडा नं ८ र १० मा वडा सम्मेलनबाट नयाँ नेतृत्व चयन भएका छन्। “नयाँ नेतृत्वमा महिला, दलित,जनजातिलगायत सबै वर्गको सहभागिता सुनिश्चित गरिएको छ”, नेता भट्टले भने, “वडाको नयाँ नेतृत्वमा कम्तीमा २७ जनादेखि ३५ जनासम्मको कमिटी चयन गरिएको छ।”
बेलौरी नगरपालिका वडा नं १ मा सहमति जुट्न नसक्दा वडा सम्मेलन स्थगित गरिएको छ। सहमतिका आधारमा नयाँ नेतृत्व चयनका लागि प्रयास भइरहेको छ। वडा सम्मेलन हुन बाँकी रहेका ५६ वडामा आइतबारदेखि निर्धारित समयभित्रै सम्मेलन सम्पन्न गरिसक्ने नेता भट्टले बताए।
वडा सम्मेलनका लागि नौवटै स्थानिय तहका प्रत्येक वडामा तीन सदस्यीय निर्वाचन समितिसमेत गठन गरिएको छ। सहमति हुन नसकेका वडामा मात्रै निर्वाचन प्रक्रियामार्फत पदाधिकारी चयन हुने भएका छन्। आगामी पुस ११ गतेदेखि १३ पुससम्म पार्टीको राष्ट्रिय सम्मेलन गर्ने समय तय गरिएको छ। रासस