धनुषा - प्रदेश २ सरकारको मन्त्रिपरिषद् विस्तार गरिएको छ। प्रदेश सरकारमा आजदेखि नेकपा (एकीकृत समाजवादी)बाट दुई मन्त्री सहभागी भएका छन्।
नवनियुक्त दुई मन्त्रीले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरी औपचारिकरुपमा कार्यभार सम्हालेका छन्। प्रदेश प्रमुख हरिशंकर मिश्राले नवनियुक्त उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो र कानुन, न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोदकुमार यादवलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
एकीकृत समाजवादीसँग मन्त्रालय र मन्त्रीको टुंगो नलाग्दा लम्बिएको थियो। एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउनका लागि मुख्यमन्त्री लालबाबु राउतले आफ्नै दल जनता समाजवादी पार्टीका मन्त्री रामनरेश रायलाई गत साता बर्खास्त गरेका थिए।
नवनियुक्त मन्त्रीमा धनुषा निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित महतो संविधानसभाका बेला संघीय सरकारमा स्थानीय विकास राज्यमन्त्रीसमेत भएको थियो। सिरहा निर्वाचन क्षेत्र नम्बर ३(ख) बाट प्रदेश सभा सदस्य जितेका यादव अर्को मन्त्रालयको जिम्मेवारी पाएका हुन्। प्रदेशसभामा नेकपा(एस)का १३ सदस्य छन्।
केन्द्रमा बनेको गठबन्धनअनुसार प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको सरकारमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीलाई सहभागी गराइएको हो। प्रदेश सरकारमा जसपाले मुख्यमन्त्रीसहित अर्थ, सामाजिक विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी गरी चार मन्त्रालय, कांग्रेसले भौतिक पूर्वाधार, ऊर्जा तथा खानेपानी र महिला, बालबालिका, युवा तथा खेलकुद गरी तीन मन्त्रालय र नेकपा ९माओवादी केन्द्र०ले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय पाएका छन्। एकीकृत समाजवादीलाई पनि भागबन्डामै दुई मन्त्रालय दिइएको छ।रासस