काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत ७५ जिल्लामा स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार सो जिल्लाहरुमा वडा अधिवेशन सकिएर गाउँपालिका र नगरपालिकास्तरीय कार्यसमितिको नेतृत्व चयन भएको हो ।
अहिले स्थानीय तहको अधिवेशन सकाएको उक्त जिल्लाहरुले प्रदेशसभा क्षेत्रीय कार्यसमितिको अधिवेशन गर्दैछन् । पहिल्यै पालिका अधिवेशन सकिएको ४८ जिल्लामा गत शुक्रबारदेखि धमाधम नेतृत्व चयन भइरहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै समितिले रसुवा र सर्लाहीमा भने क्रियाशील सदस्यताकै विवादका कारण अधिवेशन रोकिएको जनाएको छ । समितिका अनुसार रसुवामा वडा अधिवेशन पूरा भएपनि पालिका तहको अधिवेशन सम्पन्न हुन पाएको छैन । तर, सर्लाहीमा भने वडा अधिवेशन नै हुन सकेको छैन ।
अब रसुवा र सर्लाही जिल्लाको विवादका विषयमा नेताहरूसँग छलफल गरेर विवाद समाधान गरी अधिवेशन अघि बढाउने तयारी भइरहेको बताइएको छ । त्यस्तै कांग्रेसले १४ हिमाली जिल्लामा भने अधिवेशन पूरा गरिसकेको छ ।
चितवन, मकवानपुर, भक्तपुर, ललितपुर, काठमाडौं, लमजुङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, बागलुङ, पूर्वी नवलपुरासी, पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रोल्पा, प्युठान, दाङ, बर्दिया, रुकुम पश्चिम, सल्यान, जाजरकोट, दैलेख, डोटी, अछाम, बैतडी, डडेलधुरा, डोल्पा, बाँके, कैलाली, सुर्खेत, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, उदयपुर, झापा, मोरङ, सुनसरी, सिन्धुली, काभ्रपलाञ्चोक, नुवाकोट, धादिङ र कञ्चनपुरलगायत जिल्लामा शुक्रबारदेखि प्रदेशसभा क्षेत्रीय अधिवेशन सुरू भएको समितिले जनाएको छ ।
उक्त जिल्लामा ५ गतेभित्र प्रदेशसभा क्षेत्रीय अधिवेशन सम्पन्न भएपछि ६ गतेबाट प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सुरु हुने बताइएको छ । कांग्रेसले मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा पार्टीको १४ औँ महाधिवेशन गर्ने कार्यतालिका छ । त्यसअघि अब १६५ वटा प्रतिनिधिसभा क्षेत्र, ७७ जिल्ला र ७ वटै प्रदेशको अधिवेशन भइसक्नुपर्नेछ ।