अत्तरिया- कैलालीको अत्तरियामा प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको अबसरमा कृष्ण रथयात्रा (डोल) निकालिने गरिन्छ । गोदावरी नगरपालिका वडा नं २ मा रहेको राधाकृष्ण मन्दिर ब्यवस्थापन समिति र राधाकृष्ण टोल सुधार समितिले प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको दोस्रो दिन अत्तरियामा निकाल्ने कृष्ण रथयात्रा यस बर्ष पनि निकालिने भएको हो ।
कृष्ण जन्माष्टमी नजिकिएसंगै आफुहरु रथयात्राको तयारीमा जुटेको राधाकृष्ण मन्दिर ब्यवस्थापन समितिका अधयक्ष भुमिराज ओझाले बताए । उनले प्रत्येक बर्ष निकालिने रथ यात्रा यस बर्ष अझै कसरी आर्कषक र ब्यवस्थित बनाउन सकिन्छ भनेर आफुहरु योजनाका साथ अगाडी बढिरहेको बताए । तयारी स्वरुप गोदावरी २ मा रहेको राधाकृष्ण मन्दिर परिसरमा सरसफाई , रंगरोदन , बिजुली बत्तिको ब्यबस्था , रथ यात्रामा आवश्यक सामाग्रीहरु लगाएतको तयारीमा आफुहरु जुटेको उनले बताए ।
यस बर्षको कृष्ण जन्माष्टमी आगामी शुक्रवार परेको छ । रथयात्रा शनिबार दिउँसो राधाकृष्ण मन्दिर परिसरबाट पूजापाठ गरी निस्किने अध्यक्ष ओझाले बताए । मन्दिर परिसरबाट दिउँसो निस्किने रथयात्रा तेघरी हुदै अत्तरिया बजारको चारै तिर परिक्रमा गरि पुनः मन्दिर परिसरमा गएर विर्सजन गरिनेछ । रथयात्रामा बढि भन्दा बढि भक्तजनहरुलाई सहभागी गराइने मन्दिर ब्यवस्थापन समितिले जनाएको छ ।
२०६३ सालमा स्थापना भएको राधाकृष्ण मन्दिरवाट स्थापना भएदेखी नै रथ यात्रा निकाल्ने गरेको मन्दिर ब्यवस्थापन समितका सल्लाहाकार मनि साउँदले जानकारी दिए । यस बर्ष रथ यात्रा त्यस्तो फरक त केहि छैन , तर अघिल्लो बर्षको भन्दा केहि राम्रो गराउने सोचेका छौ उनले भने । उनले यसको ब्यवस्थापनका लागि केहि आर्थिकको अभाव भैरहेकोले दाताहरु खोजी भइरहेको बताए ।
तयारी स्वरुप मंगलवार भवानी दल गण तेघरी ब्यारेकवाट आएका ६१ जनाको टोलीले मन्दिर परिसरमा बृहत सरसफाई गरेको राधाकृष्ण टोल सुधार समितिका अध्यक्ष कर्ण बहादुर वि.कले जानकारी दिए ।
कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ । भगवान विष्णुको आठौं अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा हिन्दूहरूले मनाइने वार्षिक पर्व हो । कृष्णा जन्माष्टमीमा हिन्दूहरूले भगवान श्री कृष्णको पूजा आराधना गरी श्रद्धा भक्ति पूर्वक मनाउँछन् ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ। जन्माष्टमीका दिन अधिराज्यका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजाआराधना, प्रवचन, भजन कीर्तन गर्नुका साथै विशेष गरी महिलाहरू व्रत बसी रातभर जाग्राम बस्ने गर्दछन् ।