अत्तरिया - नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत आजवाट प्रदेश सभा अन्र्तगतको निर्वाचन क्षेत्रमा अधिवेशन सुरु हुँदैछ ।
काँग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४ गतेदेखी २६ गते सम्म काठमाडौंमा हुने कार्यतालिका छ । महाधिवेशनको तीव्र तयारीमा लागेको कांग्रेसले देशैभरिका तीन सय ३० प्रदेशमा अधिवेशन गर्न लागेको हो ।
तर, अझै सर्लाही, सिन्धुपाल्चोक र रसुवामा वडा र गाउँपालिका तहमा विवाद कायमै छ । जसकारण विवादित प्रदेश निर्वाचन क्षेत्रबाहेक अन्य ठाउँमा शुक्रबार नै अधिवेशन हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए ।
प्रदेश सभा क्षेत्रीय अधिवेशनले आफूमध्येबाट कम्तीमा तीन महिलासहित १० जना प्रत्यक्ष र महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट ६ जना प्रदेश सभा क्षेत्रको जनसंख्याको बनोट अनुसार, तोकिएबमोजिम समानुपातिक आधारमा गरी जम्मा १६ जना प्रतिनिधि निर्वाचित गर्नेछ ।
प्रदेश अधिवेशनको प्रतिनिधि हुन क्रियाशील सदस्यता प्राप्त गरेको तीन वर्ष पुगेको हुनुपर्नेछ । प्रदेश सभा कार्यसमितिमा एक सभापति, दुई उपसभापति, दुई सचिव र दुई सहसचिव निर्वाचनबाट छानिनेछन् । कार्यसमितिमा आएका १६ जना प्रतिनिधिमध्येबाट कोषाध्यक्ष मनोनयन गरिनेछ ।
सभापतिले कार्यसमितिको २० प्रतिशत अर्थात् चार जना सदस्य मनोनीत गर्ने छन् । यसरी जनसंख्याका आधारमा प्रदेश सभा निर्वाचन समिति २७ सदस्यीय वा त्यो भन्दा केही तल माथि हुनेछ ।