अत्तरिया - विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्दको घोषणा गरेको छ । पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक वस्तुमा गरेको मूल्य वृद्धिविरुद्ध विप्लवले आज देशभर अत्यआवश्कय बाहेक अन्य सबै सेवाहरु बन्द रहने जनाएको छ ।
नेकपा महासचिव चन्दले गत बिहीवार वक्तव्य जारी गर्दै नेपाल बन्दको घोषणा गरेको थियो । कात्तिक २४ गेतबाट पाँच दिनसम्म विभिन्न आन्दोलन गरेपछि ३० गते नेपाल बन्द गर्ने वक्तव्यमा उल्लेख छ ।
नेकपाका अनुसार बन्दमा अस्पताल, एम्बुलेन्स, खानेपानी, तरकारी, दुग्धजन्य पदार्थ, दमकल लगायत अत्यावश्यक सेवा खुल्ला रहने छन् भने त्यसबाहेक बजार व्यवसाय, विद्यालय कलकारखाना, यातायात लगायत अरु सबै क्षेत्र बन्द हुने जनाइएको छ ।
सुदूरपश्चिममा मेला जात्राको समय भएकाले मेला जात्रामा आवागमन गर्दा भने रोक नलगाउने नेकपाले जनाएको छ । सरकारले हालै महिना दिनभित्रै ९ पटकसम्म पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ ।
डिजेल, पेट्रोल, हवाई इन्धन, ग्याँस सिलिन्डर तथा दैनिक अत्यावश्यक उपभोग्य वस्तुमा भएको चर्को मूल्यवृद्धिले आम सर्वसाधारण किसान, श्रमिक, मजदुर मात्र नभई विद्यार्थी, शिक्षक–बुद्धिजीवी, कर्मचारीलगायत मध्यम वर्ग र व्यवसायीहरूको समेत ढाड भाँच्ने निश्चित रहेको जनाएको छ ।
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि विरुद्धको आन्दोलन हाम्रो पार्टीको मात्र नभई आमजनसमुदाय र व्यवसायीहरूको समेत साझा सरोकारको विषय हो ।
नेपाल बन्द आफुहरुको रहर नभई बाध्यता भएकाले सम्पूर्ण पेसाकर्मी , उद्योगी, व्यवसायी, शैक्षिक सङ्घसंस्था लगायत सम्बन्धित क्षेत्रका सम्पूर्ण पक्षलाई बन्द सफल पार्न विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिले जनमानसका दैनिकीमा प्रभव पार्ने भएकाले यसको फिर्ताको माग गर्दै आन्दोलनको घोषणा गरिएको हो ।
नेपाल बन्दको पूर्व सन्ध्यामा हिजो धनगढीमा राँके जुलुस सहित प्रदर्शन गरिएको थियो । धनगढीको क्याम्पस चोक बाट निकालेको विरोध याली पार्क मोडमा पुगेर कोणसभामा परिणत भएको थियो ।