अत्तरिया - कैलाली र कञ्चनपुरमा तिहार सकिएसंगै वनभोज जाने क्रम सुरु भएको छ । तिहारको बेला देउसी भैलोबाट सङ्कलन भएको रकमबाट स साना केटाकेटीहरु देखी लिएर युवायुवती वनभोज जान थालेका छन् ।
पिकनिक स्पोटका रुपमा परिचित कैलालीको गोदावरी , खानीडाडाँ , हाटखोली , टिकापुर पार्क , कर्णाली , पितमारी र कञ्चनपुरको रैटेला, लिंगा र वेदकोट ताल लगायतमा पिकनिक जानेहरुको संख्या बिस्तारै बढ्न थालेको छ ।
हिजो आज नजिकैको कैलालीको गोदावरीमा पनि पिकनिक खानेहरुको संख्या बढ्न थालेको छ । देउसी भैलो खेलेर उठेको रकमले साथीभाईहरुसंग वनभोज गएका बेला हरेक वर्ष विभिन्न किसिका दुर्घटना हुँदै आएका छन् ।
दुर्घटनाका कारण पिकनिकमा गएकाहरुले अकालमै ज्यान समेत गुमाउनु परेको घटना रहेको छ । बालबालिकाहरू अभिभावक बिना नै वनभोज जाने गर्दछन् ।
स–साना बालबालिकाहरू वनभोज जाने, ताल तलैया र नदीहरूमा नुहाउने गर्नाले डुबेर समेत ज्यान जाने खतरा हुन्छ । सडक प्रयोग गर्दा समेत दुर्घटनामा पर्ने जोखिम हुन्छ ।
उनीहरूलाई हुनसक्ने जोखिमको बारेमा जानकारी समेत नहुने भएकाले यस तर्फ सचेत रहन अभिभावकलाई प्रहरीले आग्रह गरेको छ ।
वनभोज जाँदा सवारीको प्रयोग गर्ने र सवारी दुर्घटनामा पर्ने, नदीमा डुब्ने, बलात्कारका घटना हुनसक्ने, झैझगडा हुने र अन्य जोखिमको समेत खतरा रहेकाले प्रहरीले अभिभावहरूलाई जिम्मेवार बन्न आग्रह गरेको हो ।
पिकनिक स्पोटका प्रहरीले निगरानी बढाएको छ । प्रहरीले पिकनिक खाने ठाउँहरुलाई मध्यनजर गर्दै सादा पोशाकमा प्रहरीहरु खटाएको जनाएको छ ।