अत्तरिया - सूर्यदेवको उपासना गरिने छठ आजबाट सुरु भएको छ । दीपावली यमपञ्चक सकिएसँगै मिथिलाका बासिन्दाले आज देखि श्रद्धा र निष्ठापूर्वक मनाइने छठ व्रत सुरु गर्न लागेका हुन् ।
सूर्यदेवको उपासना गरिने यो पर्वमा पहिलो अर्थात चौथी तिथिका दिन व्रतालुले हातगोडाका नङ काटेर पवित्र स्नान गर्दै चोखोनितो खाएर व्रत सङ्कल्प गर्दछन् ।
यसलाई मिथिलामा ‘नहाय–खाय’ भनिन्छ । यद्यपि व्रतालुले यसअघि एक दिनपूर्व नै ‘अरवाअरवाइन’ विधिअनुसार चाखोनितोको ख्याल सुरु गरिसकेका छन् ।
त्यसैगरी दोस्रो दिन पञ्चमी तिथिका दिन व्रतालुले दिनभरि निराहार व्रत उपासना गरेर राति सक्खर हालेर पकाइएको अरवा चामलको खिरमात्र इष्टदेवलाई चढाएर परिवारजनसहित प्रसादस्वरुप खाने गर्छन् ।
दोस्रो दिनको यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ । पर्वको मुख्य दिन षष्ठी तिथिका दिन व्रतालुले निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा बनाइएको घाटमा स्नान गर्दै सूर्यदेवलाई अर्घ दिन्छन्।
यसक्रममा ठकुवा, भुसुवा कसार, अन्य मिष्ठान्न परिकार, केरा, दहीसहितका सामग्री सूर्यलाई देखाइन्छ । यो विधिलाई ‘सझुका अरख’ भनिन्छ । षष्ठीको रात सूर्यदेव र षष्ठीमाता सूर्यदेवकी पत्नी को आराधना गर्दै घाटमै रात बिताउने चलन छ ।
यद्यपि यसपालि कोभिड–१९ सङ्क्रमण सन्त्रासले धेरैजसो व्रतालुले घरआँगनमै व्रत विधि सम्पन्न गर्ने तयारी गरेका छन्। पर्वको अन्तिम अर्थात् सप्तमी तिथिका दिन सखारैदेखि पानीमा चोबलिएर सूर्यदेवलाई चाँडै देखिन पुकारा गर्दै व्रतालुले गीत गाउँछन् ।
सूर्य क्षितिजमा देखिनासाथ अघिल्लो साँझ अर्घ देखाइएका सामग्री उदाउँदा सूर्यलाई देखाउँदै दोस्रो अर्घ दिएपछि पर्व विधिवत सम्पन्न गरिन्छ । मिथिलामा अन्तिम दिनको विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ।
पर्व सम्पन्न भएसँगै व्रतालुले घर फर्केर ९घाट जानेहरु० ब्राह्मण, गरिब, आशामुखीलाई अन्नदान गरी भोजन गर्दछन् ।
यससँगै छठपर्वको प्रसाद खाने खुवाउने क्रम सुरु हुन्छ । मिथिलामा छठको प्रसाद इष्टमित्र, छोरीचेली र आफन्तकहाँ पुर्याउने क्रम १० र १५ दिनसम्म चलिरहन्छ।