दार्चुला- जिल्लाका उत्तर व्याँस गाउँपालिकाको तिंकर छायाँलेकमा रहेको नेपाल प्रहरी यही कात्तिक पहिलो साता छांगरु झरेपछि चीनसँग सीमा जोडिएका नाका सुरक्षाविहीन बनेको छ। स्थानीय बसाइँ नसर्दै प्रहरी चिसो छल्न छांगरु झरेको हो।
कात्तिक पहिलो साता आएको अविरल वर्षा र हिपातसँगै तिंकरको छायाँलेकस्थित प्रहरीहरू छांगरु झरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए। हिमपातका कारण अत्यधिक जाडो बढेर पानीसमेत खान नसकिने अवस्था भएपछि प्रहरी अहिले छांगरुमा बसेको जनाइएको छ। अहिले छांगरु र तिंकर प्रहरी नीतिकुण्डमै बसेका छन्।
त्यहाँका बासिन्दा आगामी मङ्सिर पहिलो साता मात्रै सदरमुकाम खलङ्गा बसाइँसराइ (कुञ्चा) गर्ने तयारी भएको व्याँस गाउँपालिका–१ का वडासचिव विनोदसिंह बुढाथोकीले जानकारी दिए। ‘बढी हिमपात भयो भने यो महिनाभित्रै कुञ्चा सर्ने सम्भावना छ, अस्ति दुईपटक हिमपात हुँदा आधा फिट हिउँ जमेको थियाे’, उनले भने।
तिंकरमा रहेका प्रहरी जाडोयाममा बर्सेनि नजिकका अन्य युनिटमा सर्ने गर्छन्। अहिले प्रहरीका लागि छांगरु नीतिकुण्डमा पक्की भवन बनाउन सुरु गरिएको छ।
तिंकरमा सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बीओपी) को भवन यस वर्ष बनाइएको छ। तर सशस्त्र प्रहरीले बस्न सुरु गरेका छैनन्। चीनसँग जोड्ने मार्गमा रहेको प्रहरी चौकी भवन सुविधासम्पन्न नहुँदा सुरक्षाकर्मी त्यहाँ बाह्रैमास बस्न सक्दैनन्।
छांगरुमा सशस्त्र प्रहरीको नम्बर ५० गुल्म छ। गुल्मका लागि गत वर्ष भवन निर्माण सुरु भए पनि अधुरै छ।सशस्त्रले अहिले भाडाको घरमा बसेर ड्युटी गरिरहेका छन्।
यहाँका बासिन्दा चिसो छल्न ६ महिना सदरमुकाम खलङ्गा र गर्मी छल्न ६ महिना व्याँसको छांगरु तिंकर उक्लिने गर्छन्।उनीहरू नेपालतिर आउन बाटो नभएपछि हरेकपटक भारतीय बाटो हुँदै बसाइँसराइ गर्ने गरेका छन्। रासस