धनगढी -प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य पर्ब भाई टीका सकिएको छ।
यमपञ्चक समेत भनिने तिहारको पाँचौं एवं अन्तिम दिन हिजो भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइएको हो।
दिदीबहिनीले दाजुभाईलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए।
जिल्लामा जात्राको रौनक
तिहार सकिए सँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जात्राको रौनक शुरु भएको छ । बैतडी, दार्चुला, डडेल्धुरा, डोटीलगायतका जिल्लामा कार्तिक शुक्ल पक्षको शुरुआत भएसँगै जात्राको रौनक शुरु भएको हो । कात्तिक शुक्ल पूर्णिमासम्म विभिन्न मठमन्दिरमा जात्रा लाग्ने गर्दछ । केही शक्तिपीठमा बलिसहित पूजाआजा हुने गरेको छ ।
कात्तिक शुक्ल पक्ष शुरु भएसँगै बैतडीका प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिर, बाह्र ज्योर्तिलिङ्गमध्येको केदारनाथ भनेर चिनिने रौलाकेदार मन्दिर, मेलौली भगवती मन्दिर, सुर्नयास्थित भवानी मन्दिर, शिवनाथ मन्दिर, महारुद्र मन्दिर, पुचौर्डीस्थित त्रिवणीधाम (राताशीला) मन्दिर, दोगडाकेदारमा अवस्थित भिटाकेदार मन्दिरमा जात्रा लाग्ने गर्दछ ।
दार्चुलामा रहेको देशकै सातौँ धामको रुपमा रहेको मालिकार्जुन धाम, लटिनाथ, बन्तोली, मड, जयपुरलगायतका मन्दिरमा जात्रा लाग्ने गर्दछ । डडेल्धुराको उग्रतारा र भागेश्वरलगायतका मन्दिरमा कात्तिक शुक्ल पक्षमै मेला लाग्ने गर्दछ ।
त्रिपुरासुन्दरी भगवती मन्दिर, रौलाकेदार, शिवनाथ, महारुद्रलगायतका मन्दिरमा कात्तिक शुक्ल अष्टमीका दिन मेला लाग्ने गर्दछ भने मेलौली भगवती, भवानी मन्दिर, उग्रतारालगायतका मन्दिरमा कात्तिक शुक्ल पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ । यसैगरी प्रसिद्ध मालिकार्जुन धाममा कात्तिक शुक्ल चर्तुदर्शीका दिन जात्रा लाग्ने गर्दछ ।
डोटीको शैलेश्वरी मन्दिरमा पनि पूर्णिमाको दिन भव्य जात्रा लाग्दछ । भाइटीकाको दिनदेखि शुरु भई करीब १५ दिनसम्म विभिन्न ठाउँमा रहेका देवस्थलमा लाग्ने जात्राको ऐतिहासिक एवं धार्मिक महत्वका साथै आफन्त एवं इष्टमित्रसँग भेटघाट गर्ने अवसरका रुपमा लिने गरिन्छ ।