प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशन निर्धारित समयमै सम्पन्न हुने बताउनुभएको छ ।
नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्यसमितिद्वारा आज दुधपाटीमा आयोजित दीपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्री देउवाले महाधिवेशन हुँदैन भन्नेहरूका कुरा नपत्याउन आग्रह गर्नुभयो ।
उहाँले जसले जे भने पनि नपत्याउनुस् , अधिवेशन समयमा हुन्छ, हुन्छ भन्नुभयो । अब महाधिवेशन हुने नहुने पार्टी सभापतिको हातमा छैन भन्दै प्रधानमन्त्री देउवाले निर्वाचन समितिको हातमा रहेको बताउनुभयो ।
“मैले चाहेर पनि हुँदैन, निर्वाचन समितिका साथीहरू महाधिवेशन गर्न प्रतिबद्ध हुनुहुन्छ त्यसकारण पार्टीको महाधिवेशन समयमै हुन्छ”, उहाँले भन्नुभयो, “महाधिवेशनको तयारीमा लाग्नुहोला ।”
१४औँ महाधिवेशन समयमा मा सम्पन्न गर्ने काँग्रेस निर्वाचन समितिको तयारी छ भन्दै सभापति देउवाले मङ्सिरभित्र कुनै हालतमा महाधिवेशन सक्न निर्वाचन समितिलाई निर्देशन दिएको बताउनुभयो ।
“हाम्रो पार्टीको महाधिवेशन समयमै होस् भन्ने कुरामा निर्वाचन समितिका सदस्यहरु चिन्तित हुनुहुन्छ”, र उहाँहरूले मङ्सिरभित्र सक्ने प्रतिबद्धता जनाउनुभएको छ”, सभापति देउवाले भन्नुभयो ।
उहाँले जिल्ला अधिवेशनबाट भक्तपुरमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न सम्भव हुँदैन भने स्वस्थ प्रतिस्पर्धाबाट सभापति बनाउन सुझाव दिनुभयो । प्रतिस्पर्धा गर्दा जित र हार हुने भन्दै दुस्मनी बढाउन नहुने सभापति उहाँको भनाइ छ ।
उहाँले प्रतिस्पर्धामा जाँदा जीत हार हुन्छ तर जित्नेले हार्नेको सहयोग लिने र हार्नेले जितेकालाई साथ दिनुपर्ने हुन्छ भन्नुभयो ।
उहाँले सहिद राधेश्याम जोन्छे पत्नी प्रदेश सांसद रजनी जोन्छेलाई प्रदेश मन्त्री बनाउने प्रतिबद्धता व्यक्त गर्दै उहाँले सहिद भरत गोपाल झालाई राज्यबाट पाउने सुविधा दिलाउने बताउनुभयो ।
प्रधानमन्त्री देउवाले कोभिड सङ्क्रमणको खतरा अझै नटरेको भन्दै सबैलाई कोरोना विरुद्धको खोप लगाउन आग्रह पनि गर्नुभयो । उहाँले कोरोना विरुद्धको खोप लगाउन अति आवश्यक छ भन्दै आफूले खोपमा जोड दिएको बताउनुभयो ।
दुई पटक खोप लाएकालाई पनि कोरोना संक्रमण भएको भन्ने आएको बताउँदै प्रधानमन्त्री देउवाले भन्नुभयो, “एस्टाजेनेका खोप तेस्रो पटक पनि दिनुपर्छ भन्ने छ, दोस्रो पटक लगाएकाले पनि तेस्रो पटक लगाउनुहोला, लाउँदै नलगाउने पनि लाउनुहोला, जोन्सन एण्ड जोन्सन खोप भने एक पटक लगाए पुग्ने भनिएको छ ।”
कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भँडेल, जिल्ला सभापति दुर्लभ थापा, उपसभापति हरि नेपाल, सचिव उद्धव सिलवाल लगायतले लोकतन्त्रको रक्षाका लागि पार्टी एक ढिक्का भएर जानुपर्नेमा जोड दिनुभयो ।