अत्तरिया - नेपालीहरुको घरआँगनमा तिहार भित्रिएको छ । तिहारको तयारीमा नेपाली समुदाय जुटेको छ । यती बेला गाउँघरमा महिलाहरु तिहारका लागि भनेर थरिथरिका खानेकुरा पकाउनमा ब्यस्त छन् ।
हरेक वर्षको तिहारमा रमाइलो गर्न, दाजुभाइलाई कोसेली दिन र घरपरिवारमा खानकै लागि भए पनि सबैको घर घरमा चिल्ला खानेकुरा पाक्दछन ।
कैलालीकी झरना रिमालले अहिले तिहारका लागि भनेर रोटी पकाउन सुरु भइसकेको बताउनुभयो । तिहारमा महिनौँ सम्म खानका लागि रोटी पकाउने बताउदै उहाले तिहारमा विभिन्न प्रकारका चिल्ला रोटी र मिठाई बनाएर रमाइलो गर्ने चलन रहेको बताउनुभयो ।
भाइटीकाका दिन दाजुभाइलाई दिदिबहिनीहरुले विभिन्न प्रकारका रोटी र मसला कोसेली दिने गर्दछन् । तिहार दाजुभाइ तथा दिदीबहिनीको महत्वपूर्ण पर्व भएकाले यसलाई विशेष तवरले मनाउने गरिन्छ ।
विशेषगरी दाजुभाइ, दिदीबहिनी जमघट भएर भाइटीका लगाउने, मीठो खाने, कोसेली दिने चलन छ। तिहारको समयमा दाजुभाइलाई कोसेली दिन र खुवाउन दिदीबहिनीले विभिन्न चिल्ला परिकार पकाउने गर्दछन् ।
कैलालको जानकी गाउँपालिका घर भएकी रुपकला विकको घरमा तिहारका लागि आवश्यक रोटी, फिनी, अर्सा, अनारसा, झिलङ्गी पाकिसकेको बताइन् । चार दाजुभाइलाई टीका लगाउने तयारीमा जुटेकी रुपकलाले छिमेकीको सहयोग लिएर रोटी पकाइएको बताउनुभयो ।
यसरी पकाएका रोटी एक महिनासम्म राख्छौँ, तेल र घ्यूमात्र प्रयोग गरेका रोटी महिनौँसम्म राख्दा केही बिग्रँदैन ।
तिहारमा पकाइने सेलरोटी, फिनी, अर्सा, अनारसा, झिलङ्गी आदि घ्यू वा तेलमा पकाउने भएकाले त्यसमा चिल्लो तथा गुलियोको मात्रा धेरै हुन्छ । चिल्लो तथा गुलियोले कोलेस्टेरोल बढाउँछ, रक्तचाप, मधुमेह र अम्लपित्त आदिको वृद्धि गर्ने हुदाँ यस तर्फ सचेत रहन स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् ।
अघि पछिको तुलनामा एकैपटक शरीरमा चिल्लो तथा गुलियो बढी नहोस भनेर सतर्क रहनपर्ने चिकित्सकको सुझाव दिएका छन् । टीकापुर अस्पतालका डा सम्वाद खरेल तेलमा पकाएका खानेकुरा पचाउन गाह्रो हुन्छ तसर्थ थोरै मात्रामा सेवन गर्नु उत्तम हुने बताएका छन् ।
खानेतेलको गुणस्तरमा ध्यान दिने, सकेसम्म शुद्ध तोरीको तेल, मकैको तेल, भटमासको तेल वा सूर्यमुखी तेले प्रयोग गर्नु राम्रो हुनुका साथै फलफूल, सागपात, पानी प्रशस्त सेवन गर्नुपर्ने उहाले बताउनुभयो ।
खानपानमा ध्यान नदिँदा चाडपर्वका समयमा पनि अस्पतालमा बिरामीको सङ्ख्या बढ्छ । जथाभावी खानपानले मानिसलाई दीर्घकालीन असर पनि गर्न सक्छ ।
चाडपर्वमा चिल्लो रोटीको प्रयोग कम गर्न फलफूल खाने, हरियो सागपात बढी खाएर, रमाइलो गरेर पनि चाडपर्व मनाउन प्रोत्साहन गर्नुपर्ने डाक्टर खरेको भनाई रहेको छ ।