काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले निजी क्षेत्रको कम्पनीसँग साँगगाँठ गरेर नेपाल वायु सेवा निगमलाई कमजोर बनाउने पक्षमा आफू नरहेको बताएका छन् ।
नेपाल पर्यटन बोर्डले मंगलबार आफ्नै स्वागतमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपाल वायु सेवा निगमको थन्किएर बसेको दुई वटा जहाजलाई तत्काल संचालनमा ल्याएर नेपालमा पर्यटन भित्र्याउने काममा आफू लागिपर्ने कार्ययोजना पनि सार्वजनिक गरे ।
मन्त्री आलेले विगतमा नेपाल वायु सेवा निगमको जहाजको ग्राउन्ड ल्यान्डिङ समेत आफ्नो व्यक्तिगत स्वार्थका लागि निजी कम्पनीलाई दिएको उल्लेख गर्दै आफूले त्यसो नगर्ने प्रतिवद्धता समेत जनाए ।
मन्त्री आलेले आईकाओको कालो सूचीबाट नेपाललाई हटाउन पनि आफूले पहल गर्ने बताए । त्यसका लागि आफूले निगमकै कर्मचारी संघ, संगठनहरुको माग अनुसार कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गरेको उनले स्पष्ट पारे ।
अब निगमको बैठक बस्ने र त्यसले निगमको थन्किएर बसेको विमान संचालन गर्ने, पर्यटन प्रवद्र्धन हुने गरी उडान भर्ने लगायतका काम गर्ने मन्त्री आलेको भनाइ थियो ।
‘नेपाल एयरलाईन्सको जहाजलाई घाममा सुकाएर प्राईभेट एयरलाईन्ससँग सेटिङ गरेर उसलाई रातारात करोडपति बनाउने अनि नेपाल एयरलाईन्सको ग्राउन्ड ल्यान्डिङ चाँही कुनै निजी कम्पनीलाई आफ्नो व्यक्तिगत स्वार्थका लागि दिने काम प्रेम आलेले गर्दैन,' उनले भने,' म त्यो पनि विश्वास दिलाउन चाहन्छु । र म आएको २४ घण्टा नबित्दै नेपाल एयरलाईन्सको १ सय ४ दिनदेखि लगाइएको तालाबन्दी खुलाए । अब छिट्टै निगमको बैठक बसेर थन्किएर बसेका २ वटा जहाज पनि संचालनमा ल्याउनेछौं । नेपालमा पर्यटन भित्र्याउनका लागि आवश्यक कामहरु गरेर अघि बढनेछौं ।’
मन्त्री आलेले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू मन्त्री भएर आएको बताए ।