काठमान्डौ -प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेश जारी गर्ने पाँचै जना न्यायाधीशहरूलाई राजीनामा दिन सुझाव दिएका छन् ।
मंगलबार एमालेको पालिका स्तरीय अधिवेशनको भर्चुअल रूपमा उद्घाटन गर्दै अध्यक्ष ओलीले परमादेश पाँचै जनाले जारी गरेकाले सबैले राजीनामा दिनु उपयुक्त हुने बताएका हुन् ।
'परमादेश त एक जनाले होइन, पाँचै जनाले गर्नुभएको थियो होला । पाँचै जनाले परमादेश जारी गर्नु भएको थियो भने एक जनासँग किन राजीनामा माग्नुहुन्छ श्रीमानज्यूहरू,' उनले प्रश्न गर्दै भने, 'पाँचै जनाले परमादेश जारी गरेर देशलाई यो हालतमा पुर्याउनु भएको छ त पाँचै जनाले राजीनामा गरे उपयुक्त होइन र ?'
अध्यक्ष ओलीले अहिले सर्वोच्च अदालतमा आफैँ तमासा देखिइरहेको बताए । उनले पाकिस्तानी शैलीमा परमादेशबाट सरकार बन्ने र हटाउने हुन थालेपछि लोकतन्त्र के हुन्छ भन्ने तमासा अदालतमा आफैँ देखिएको बताए ।
'अदालतले हेर्ने संविधानको सही प्रयोग भइरहेको छ कि छैन भन्ने हो । तर, संविधानमै नभएको, दुनियाँमा कहीँ नभएको व्याख्या, दुनियाँको संविधानमै नभएको कुरा यो सर्वोच्चले गरेको छ । सरकार बनाउने र हटाउने जस्ता कुरा पाकिस्तानी शैलीमा परमादेशबाट हुन थालेपछि लोकतन्त्र के हुन्छ । आज सर्वोच्च अदालतमा आफैँ देखिएको छ तमासा,' उनले भने ।
अध्यक्ष ओलीले न्यायाधीशहरूले अहिले आफूले के के गरेका थिए भन्ने उधिन्न थालेको र उधिन्दै जाँदा कुराहरू निक्कलिँदै जान थालेको बताए । 'श्रीमान न्यायाधीशहरू आफैँ कसले के-के गरेको थियो अलिकति उधिन्न थाल्नु भएको छ । उधिन्दै जाँदा निक्लिँदै जान थालेका छन् कुराहरू,' उनले भने ।
पाँचै न्यायाधीशको सर्वसम्मतिको निर्णयको सुगन्ध- दुर्गन्ध के फैलिएको छ भन्नेबारे आफूले टिप्पणी गर्न नचाहेको उनले बताए । 'सर्वोच्च अदालतको मानमर्दन यहाँहरूले गरिरहनु भएको छ । यो न्यायाधीश राख्न हुन्छ, यो न्यायाधीश राख्न हुन्न । यो-यो न्यायाधीश राखे आफू नबस्ने । बस्छु भनेकालाई हटाउने, बस्दिनँ भन्नेकालाई राख्ने । बार र अधिवक्ताले इजलास गठन गर्ने अभ्यासहरू भए,' उनले भने ।
राष्ट्रपतिको अधिकारमाथि धावा बोलेर २४ घण्टाभित्र यतिबजेसम्म भनेर राष्ट्रपतिलाई परमादेश जारी गर्ने न्यायाधीशहरू अहिले पोल खोलाखोल गरिरहेको ओलीले बताए ।