अत्तरिया - प्रधानमन्त्री शेरबहादुर देउवाले आज कैलालीको बाढी प्रभावित क्षेत्रको स्थलगत निरिक्षण गरेका छन् ।
गएको असोज ३१ ग्ते देखीको लगातार बर्षाका कारण सुदूरपश्चिममा बाढी र पहिरोले पुञ्याएको क्षेति बारे अबलोकन गर्न हिजो सुदूपश्चिम प्रदेशमा आउनुभएको प्रधानमन्त्री देउवाले आज कैलालीको बाढी प्रभावित क्षेत्रको स्थलगत निरिक्षण गरेका हुन् ।
आज बिहान धनगढीमा पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री देउवा धनगढी उप महानगरपलिकाको वडा नं १३ मा पुग्नुभएको थियो । प्रधानमन्त्री देउवालाई मोहना नदीले बर्षेनी बाढीका कारण क्षती हुने गरेकोले सो स्थानको अनुगमन गरिएको धनगढी उपमहानगरपलिकाकी उपमेयर शुशीला मिश्र भट्टले बताए ।
श्रीलंका स्थानीयबासीले मोहना नदीले बर्षेनी खेतीपाती पुरै बगाउने गरेको प्रधानमन्त्रीलाई गुनासो व्यक्त गरेका थिए । कैलाली कञ्चनपुर भएर वहने मोहना नदीले हरेक वर्ष श्रीलंका क्षेत्रमा क्षति पुगाउदै आएको छ । सो क्षेत्रका जनताले तत्काल तटबन्ध गरेर बाढी कटान र डुबान नियन्त्रण गर्न अनुरोध गरे ।
श्रीलंकाको भ्रमण पछि कंचनपुरको महाकाली नदिले र्पुयाएको क्षतिबारे बुझ्न प्रधानमन्त्री देउवा कंचनपुर पुग्नुभएको थियो । निरिक्षणको क्रममा कञ्चनपुरको भीमदत्तनगरपालिका वडा नम्बर १२ का अध्यक्ष कृष्ण देउवा र १३ का अध्यक्ष लाल बहादुर शाहीले प्रम देउवालाई तटिय क्षेत्रमा नदिले र्पुयाएको क्षति र ६ लेन सडक कटानीबारे जानकारी गराएका थिए ।
कंचनपुरबाट पुन कैलालीको कैलारी गाउँपालिकाका पुगेका देउवाले बाढी पीडित किसानहरुको गाउँमै गएर समस्या बुझेका थिए । प्रधानमन्त्री देउवाले किसानहरुको समस्या बुझ्न कैलारी गाउपालिका वडा नम्बर ७ रामपुर गाउँ पुगेका थिए । बाढी पहिरो पीडितहरुका समस्या बुझ्न सुदूरपश्चिम आएका प्रधानमन्त्री देउवाले कैलारीका किसानहरुका पनि समस्या बुझेका हुन् ।
गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले कैलारीका बाढी पीडित किसानहरुका समस्या तथा पीडा प्रधानमन्त्री समक्ष दर्शाएका थिए । अध्यक्ष चौधरीले यहाँका किसानहरु कटैनी र मोहना नदिबाट धेरै नै प्रभावित भएकाले उक्त नदिकाबाट हुने क्षति नियन्त्रणका लागि सरकारको ध्यानाकार्षण गराएका थिए ।
त्यसपछि प्रधानमन्त्री देउवाले टीकापुर नगरपालिका वडा नं ८ बनगाउँमा बाढी प्रभावितसँग भेट गर्दै सरकारले प्रभावितका लागि राहतको कार्यक्रम ल्याइसकेको बताए।
प्रधानमन्त्री देउवाले बाढीबाट लामो समयदेखि प्रभावित हुँदै आएको टीकापुर क्षेत्रको बाढी समस्या समाधानका लागि दीर्घकालीन कार्यक्रमहरु ल्याइने बताए । ‘यो विपद् हो, लामो समयदेखि तपाईँहरु बाढीबाट प्रभावित हुनुहुन्छ,प्रधानमन्त्री देउवाले भने, ‘सरकारले राहतका कार्यक्रम घोषणा गरिसकेको छ, अब यसको समाधानका लागि दीर्घकालीन कार्यक्रम ल्याउनेछौं ।’
प्रधानमन्त्री देउवाले बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै वास्तविकता बुझ्न अर्थमन्त्रीसहित आफूहरु पीडितसँग भेटघाट गर्न आएको बताए । ‘अर्थमन्त्रीज्यू समेत यतै हुनुहुन्छ, हामी तपाईँहरुको साथमै छौं, सरकारले यहाँ फर्केपछि दीर्घकालीन कार्यक्रम ल्याउनेछ,ु प्रधानमन्त्री देउवाले छोटो सम्बोधन गर्दै भने ।
त्यसपछि प्रधानमन्त्री देउवा टिकापुर पुगेर बाढीपीडितका समस्याको दीर्घकालीन समस्या समाधान गर्न र क्षतिबारे विवरण पेश गर्न नगरपालिकालाई निर्देशन दिएका थिए ।
टिकापुर पछि नजिकै रहेको जानकी गाउँपालिकाको खैरीफाट पुगेका देउवा त्यहाँबाट बर्दियाको राजापुर हुँदै नेपालगन्ज गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।
प्रधानमन्त्री देउवा आजै काठमाडौ सुदूरपश्चिमको स्थालगत निरिक्षण सकेर आजै काठमाण्डौ फर्किनुभएको छ ।