धनगढी - सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । गत असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको प्राकृति विपद्को घटनामा परी शुक्रबार सम्म प्रदेशमा ३३ जनाको मृत्यु भएको हो ।
विपदबाट डोटीमा सबैभन्दा बढी मानवीय क्षति भएको छ । डोटीमा १६ जनाको मृत्यु भएको छ । बझाङमा ९, बैतडीमा ४, डडेलधुरामा ३ र कैलालीमा १ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
विपद्मा परी सुदूरपश्चिममा २२ जना बेपत्ता छन् । बझाङमा २० र बैतडी र कैलालीमा एक/एक जना बेपत्ता छन् । १७ जना घाइते भएका छन् । डोटीमा ११, डडेलधुरामा २, बैतडीमा २ र बझाङ र बाजुरमा एक/एक जना घाइते भएका छन् ।
विपद्मा परी बाजुरा, डोटी, डडेल्धुरा, बझाङ जिल्लामा गरी १०० भन्दा बढी पशु चौपाया मरेका छन् । पहिरोका कारण बझाङमा १२, डोटीमा ६ र डडेल्धुरामा २ गरी २० घरमा पूर्णरूपमा क्षति पुगेको छ ।
बाढीका कारण यहाँका २१६ घरधुरी डुबानमा परेकामा ४३० जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार गरेको जनाइएको छ ।
बाढी, पहिरोकै कारण सुदूरपश्चिम प्रदेशमा करोडौंको धनमालको क्षतिसमेत भएको प्रहरीले जनाएको छ । अहिले यहाँको जनजीवन सामान्य बन्दै गएको छ ।