डडेल्धुरा – डडेल्धुराको प्रसिद्ध धार्मिक शक्तिपिठ घटालबाबाको मन्दिर परिसरमा झण्डै ७ सय भन्दा बढी वोट–विरुवा वृक्षारोपण गरिएको छ । सयपत्री, मखमली, गोदावरी, सूर्यमुखी, गुलाफ, लालीगुराँसफूल तथा डालेघाँस रोपिएका घटाल क्षेत्र विकास समितिका अध्यक्ष कृष्ण बोहराले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयको आयोजनमा वृक्षारोपण गरिएको हो । ‘हर प्रहर गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल मर्म सहित नेपाल प्रहरीको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्तरगत घटाल बाबा मन्दिर परिसरमा ‘बृहत सरसफाइ तथा वृक्षारोपण’को कार्य गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख, प्रहरी नायब उपरिक्षक दधीराम न्यौपानेले जानकारी दिए ।
यहाँका पौराणिक कलाकृति, मठ मन्दिर, कला संस्कृतिको संरक्षण तथा सम्बद्र्धनका साथै समाजमा रहेका व्याप्त कुसंस्कारलाइ निवारणका निमित्त स्थानीय निकाय तथा नागरिहरुसंग समन्वयमा क्रियाकलाप गरिने प्रहरी नायब उपक्षिक न्यौपानेले बताए ।
वृक्षारोपण कार्यक्रममा जिल्ला प्रहरी कार्यलयका प्रमुख तथा पदाधिकारी, अमरगढी नगरपालिकाका जनप्रतिनिधि, घटाल माविका शिक्षक, विद्यार्थी, अभिभावक, घटाल क्षेत्र विकास समितिका पदाधिकारी लगायत डडेल्धुरा स्थित नागरिक समाजका अगुवाहरुको उल्लेख्य सहभागीता रहेको थियो ।
तुरुन्त मनोकांक्षा पूरा गर्ने जनविश्वास रहेको घटोचक अर्थात घटाल बाबाको मेला प्रत्येक बर्ष बैशाख २ गते लाग्छ । घटाल बाबाको मन्दिरमा पूजापाठ गरेर बालुवा खाएमा गाउंँमा खडेरी नहुने जनविश्वास रही आएको छ । घटालबाबाको ढुंगाको मुर्ति तल रहेको ढुंगामा एउटा सानो प्वाल रहेको र उक्त प्वालमा जति पानी हाले पनि कहिल्यै नभरिने हँुंदा मन्दिरप्रति सुदूरपश्चिमेलीहरुको विश्वास रही आएको छ ।