अत्तरिया - प्रधानमन्त्री शेरबहादुर देउवाले आज सुदूरपश्चिम प्रदेशमा बाढीपहिरो र डुबानले निम्त्याएको क्षति निरीक्षण गर्ने भएका छन् ।
प्रधानमन्त्री देउवा सहितको टोली आज सुदूरपश्चिमका विभिन्न जिल्लामा भएका क्षति निरीक्षणका लागि गृह प्रदेशमा आउन लागेका छन् ।
प्रधानमन्त्री देउवा सहितको टोली आज बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हेलिकोप्टर मार्फत सुर्खेतका लागि हिडेका छन् । सुर्खेतवाट हेलिकोप्टर मार्फत डोटी जाने कार्यक्रम रहेको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।
डोटीमा बाढीपहिरोबाट हुन गएको क्षतिको निरीक्षणपछि उक्त टोली बझाङ हुँदै बैतडी जाने छ भने त्यहाँबाट प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुराको अमरगढी नगरपालिका र पर्शुराम नगरपालिकामा गरेको क्षति निरीक्षण गरिने छ ।
त्यसपछि त्यहाँवाट कञ्चनपुरमा बाढीपहिरो र डुबानले पुर्याएको क्षतिको निरीक्षण गरेर बेलुकी प्रदेशको राजधानी धनगढीमा बास बस्ने कार्यतालिका छ ।
टोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, नेपाली कांग्रेसका नेतात्रय एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर रहेका छन् ।
मौसम अनुकूल भए भोली प्रधानमन्त्री देउवाले कैलालीको कैलारी गाउँपालिका, भजनी नगरपालिका र टीकापुर नगरपालिकाको दक्षिणी भेगको निरीक्षण गर्ने र दिउँसो संघीय राजधानी काठमाडौं फर्किने बताइएको छ ।