अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं ८ मा रहेको खुटिया खोलाले बगाएर बेपत्ता भएका ट्याक्टर चालक अझै फेला परेका छैनन् । यही कात्तिक १ गते खुटिया खोलमा ढुङ्गा संकलनका लागि गएका बेला खोलाले बगाएर बेपत्ता भएका सोही ठाउँका ट्याक्टर चालक ३० बर्षिय गणेश आउजी अझै फेला नपरेका हुन् ।
खोलाले बगाएको ३ दिन सम्म पनि आउजीको कुनै अत्तोपत्तो नलागेपछि तिब्र रुपमा खोजी कार्य भैरहेको छ । आज सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पूर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरी आफै घटनास्थलमा पुगेकी थिइन् ।
उनले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई खबर गर्दै खोजी कार्यलाई तिब्रता दिन भनेपछि बनबेहडावाट सशस्त्र प्रहरीका प्रहरी नायब उपरिक्षक डिएसपी र ईलाका प्रहरी कार्यालय मालाखेतीवाट खटिएको नेपाल प्रहरीले खोजी कार्यलाई तिब्रता दिएको छ ।
आज सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले घटनास्थाल देखी पुल सम्म खोजी गरेको थियो । यद्धपी अहिले सम्म बेपत्ता आउजीलाई फेला पार्न नसकिएको राज्यमन्त्री चौधरीले बताइन् ।
खोलामा ढुङ्गा संकलन गरेर फर्किने क्रममा एक्सासी आएको बाढीले संगैको साथीलाई बगाएको आफु पौडी काटेर बच्न सफल भएको आउजीसंगै ढुङ्गा संकलनका लागि गएका स्थानिय राजु परियारले बताए । उनीहरु दुवै जना १ गते बिहान ११ बजे नदीमा गएका थिए ।
"हामीले ३\४ ट्रली जति ढुङ्गा संकलन गरिसकेका थिए , अब घर जानुपर्छ भन्ने बेलामा साउनीले नास्ता ल्याएर आइन्" परियारले अगाडी भने - " नास्ता खाइसकेपछि फर्किने बेलामा एक्कासी खोलामा पानीको मात्रा बढेपछि हामी दुवै जना आत्तिएर भाग्यौ ।"
उनले आफु एक छेउमा र बेपत्ता आउजी अर्को छेउमा भएपछि आफु भने पौडी काटेर बच्न सफल भएपनि आउजीलाई भने बगाएको बताए ।
३ दिन सम्म पनि आउजीका सास र लास केही नपाएपछि उनको परिवार यतिबेला पिडामा रहेको छ । आउजीकी श्रीमति , एक छोरा र एक छोरी रहेकी छन् ।