अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं ३ मा रहेको मालाखेती अस्पतालमा झण्डै एक बर्षदेखि एक्कसरे सेवा बन्द रहेको छ । गोदावरी नगरपालिकाका मातहत रहेको यस क्षेत्रकै पुरानो सरकारी अस्पताल मालाखेती अस्पतालमा रहेको एक्सरे मेसिन बिग्रएको एक बर्ष पुग्नै लाग्दा पनि मर्मत हुन नसक्दा एक्कसरे सेवा बन्द रहेको हो ।
अस्पतालबाट सहुलियत रुपमा पाउँदै आएको एक्सरे सेवा बन्द भएपछि अस्पतालमा पुग्ने बिरामीहरु मर्कामा परेका छन् । सरकारी अस्पताल भनेर गोदावरी नगरपालिकासंगै कञ्चनपुरको कृष्णपुर नगरपालिकावाट समेत उपचारका लागि अस्पतालमा पुग्ने विरामीहरु अहिले एक्सरे गराउन निजी स्वास्थ्य संस्थामा जान बाध्य रहेका छन् ।
सेवा बन्द भएपछि मालाखेती अस्पतालका चिकित्सकहरुले बिरामीहरुलाई अन्यत्र पठाउने गरेको र बिरामीहरू चर्को शुल्क तिरेर कैलालीको अत्तरिया , धनगढीका निजी स्वास्थ्य संस्थामा जाने गरेका छन् । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिवराज पनेरुका अनुसार अहिले अस्पतालमा दुई दुई वटा एक्सरे मेसिन रहेपनि दुवै प्रयोग बिहिन रहेका छन् । अहिले आर्थिक देखी सम्पुर्ण हक अधिकार नगरपालिकासंग रहेको बताउदै डा. पनेरुले यसको बारेमा नगरपालिकालाई बारम्बार जानकारी गराउदै आएको बताए ।
सात आठ महिना पहिले देखी निरन्तर संञ्चालन हुदै आएको पुरानो एक्कसरे मेसिन बिग्रको उनले बताए । यस्तै अस्पताल अहिले नया भनवनमा सरेपछि एक्सरे मेसिनका लागि आवश्यक पर्ने डार्क रुम समेत नभएको उनको भनाई छ । एक्सरे मेसिन प्रयोगबिहिन हुँदा उपचार सेवा प्रभावित भएको डा. पनेरुले बताए । “अस्पतालको सामान बिग्रएपछि मर्मतका लागि भनेर हामीले अनुरोध पत्र लेख्ने हो ” उनले भने – “एक्सरे मेसिन बिग्रएपछि हामीले नगरपालिकालाई खबर गञ्यौ , नगरपालिकाले ध्यान दिनुपर्ने हो अहिले सम्म केहि भएको छैन । ”
उनले पुरानो मेसिन बनाउन भन्दा नयाँ खरिद गर्नमा कम खर्च लाग्ने देखिएको बताए । यो संगै मेसिन राख्नका लागि एउटा छुट्टै कोठाको अबश्यकता पर्ने र यसका लागि डार्क रुम बनाउन नसकिएको उनले बताए । उनले अहिले एक्सरे गर्नका लागि दैनिक रुपमा २० देखी ३० जना बिरामीहरु अस्पताल सम्म पुग्ने गरेको बताए । “एक्सरे गर्नका लागि अस्पतालमा दैनिक बिरामीहरु आइरहेका छन्” उनले भने – “यसका लागि आवश्यक जनशक्ति पनि राखिएको छ तर के गर्नु सेवा सुचारु नहुदा अहिले एक्सरे सेवामा काम गर्ने कर्मचारी त्यतिकै बसेर दिन कटाउने गर्दछन् ” । उनले एक्सरे गर्नुपर्ने बिरामीहरुलाई अत्तरिया धनगढी लगाएका निजि अस्पतालहमा पठाउनुको विकल्प नरहेको बताए ।
उता गोदावरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख हर्क बहादुर खड्काले बन्द अबस्थामा रहेको एक्सरे सेवालाई निरन्तर सुचारु गर्नका लागि नगरपालिकाले पटक पटक अस्पताल प्रशासनलाई निर्देशन दिएको बताए । उनले बन्द अबस्थामा रहेको एक्सरे सेवालाई सुचारु गर्ने बिषयलाई आफुले सबैलाई जानकारी गरासकेको र अबको केहि दिनमै सेवा पुर्ण रुपमा सुचारु गरिने बताए ।
मालाखेती अस्पताल अहिले नयाँ भवनमा सरेपनि अस्पतालमा दरबन्दि अनुसार चिकित्सक , आवश्यक दक्ष जनशक्ति, औषधी, उपकरणको अभावका कारण अस्पताल पुरानै स्वास्थ्य चौकी जस्तो रहेको छ । ग्रामीण क्षेत्रका सर्वसाधारणका लागि सहज होस भनेर स्थापना गरिएको अस्पतालमा दैनिक १ सय भन्दा बढि विरामीहरु उपचारका लागि पुग्ने गरेका छन् ।
अस्पतालमा अनिवार्य हुनुपर्ने इमर्जेन्सी सेवा नहुदा गम्भीर प्रकृतिका बिरामी आएमा अन्यत्र रेफर गर्ने गरिएको छ । अस्पतालको अन्य सेवा बिहान १० बजेदेखि बेलुकी पाँच बजेसम्म मात्रै सञ्चालन हुने गर्दछ । स्थानिय सरकार मातहत आएपछि केहि सुधार हुने आशा गरिएपनि सेवा चुस्त दुरुस्त बनाउन नसकिदाँ मालाखेती अस्पतालको अबस्था पछिल्लो समय झन झन नाजुक बन्दै गएको छ ।