कैलाली - आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशमा बाढीको जोखिम बढेको छ भने कयौं क्षेत्रमा धान बाली डुबेको छ । निरन्तर वर्षाका कारण डुबानमा परी कैलाली र कञ्चनपुरका किसानले खेतबारीमा लगाएको तरकारी बाली र धान नष्ट भएको हो ।
धनगढी उपमहानगरपालिकाका केही क्षेत्र डुबानमा परेका छन् । धनगढी बजार क्षेत्रको एलएन चोक, विशालनगर, पार्क मोड, राजपुर क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले रातोपाटीलाई जानकारी दिए ।कैलालीको खुटिया, मोहना, कर्णाली नदीमा पानीले खतराको तह पार गरेको छ तर उद्धार गर्नुपर्ने सूचना नआएको बिष्टले बताए । पहाडी जिल्ला जोड्ने चुरे गाउँपालिका ३ सल्लेरी भासु भिर नजिक पहिरो जाँदा बाटो अवरुद्ध भएको र पहिरो हटाउने प्रयास भइरहेको जानकारीसमेत उनले दिए ।
त्यस्तै महाकाली नदीमा आएको बाढीका कारण भिमदत्त नगरपालिका–९ को खल्ला, वडा नम्बर १२ को ऐरी घाट, १३ को बढैपुर र पिपरैयाका २ सय घर डुबानमा परेको ईलाका प्रहरी कार्यालय गड्डा चौकीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक जीवन गुरुङले जानकारी दिए ।सो क्षेत्रमा उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटेका छन् । दार्चुला क्षेत्रमा अबिरल पानी परेकाले महाकाली नदीको बहाब बढेको भन्दै सतर्कता अपनाउन कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले भने वर्षाका कारण भएको क्षतिको विवरण नआइसकेको जनाएको छ ।
धान बाली नष्ट
लगातार वर्षाका कारण कैलाली र कञ्चनपुरका किसानलाई ठूलो क्षति भएको छ । भर्खर लगाएको हिउँदे तरकारी बालीका साथै खेतबारीमा काटेर भित्र्याउन लागेको धान डुब्दा किसानलाई ठूलो क्षति भएको हो । धनगढी उपमहानगरपालिका ५ का किसान खगीराज चौधरीले वर्षाका कारण आफ्नो एक बिगाहामा क्षेत्रफलमा लगाएको धान नष्ट भएको बताए ।
टीकापुर नगरपालिकाको वडा नं ७, ८ र ९ का किसानको खेतमै धान डुब्दा क्षति भएको छ । सबैभन्दा बढी क्षति वडा नं.८ का किसानलाई भएको धनसिंहपुर कृषि सहकारी संस्थाका अध्यक्ष धनसिंह साउदले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार २५ प्रतिशत किसानले मात्र धान भित्र्याउन पाएका छन् भने ७५ प्रतिशत किसानका धान बाली खेतमै डुबेर नष्ट भएको छ । टीकापुर नगरपालिका–८ स्थित बनगाउँबाट कर्णालीको पानी खेतबारीमा पसेकाले पनि बढी क्षति भएको उनको भनाइ छ । उनले आफ्नै ९ बिगाहा क्षेत्रफलमा पाकेको धानसमेत भित्र्याउन नपाएको बताए ।रासस